शैलुङमा उत्पादन गरियो दाना आलुको बिउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

शैलुङमा उत्पादन गरियो दाना आलुको बिउ


९ मंसिर २०८०, शनिबार


रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा रोजिटा जातको पीबीएस दाना आलुको पहिलो पुस्ताको बिउ उत्पादन गरिएको छ ।

स्क्रिन हाउसभित्र टिस्यु कल्चर प्रविधिबाट सो आलुको बिउ उत्पादन गरिएको हो । दोरम्बा शैलुङ गाउँपालिका-१ डडुवाको शैलुङस्थित ल्याबमा इनभिट्रो प्लान्ट तयार गरी स्क्रिन हाउसबाट नयाँ बिउ निकालिएको अगुवा कृषक दावासाङबु शेर्पाले जानकारी दिए ।

स्क्रिन हाउसमा यस्तो प्रविधिबाट शैलुङमा आलुको बिउ उत्पादन गरिएको यो दोस्रो पटक हो । यसअघि गत वर्ष पनि सो प्रविधिबाट आलुको बिउ उत्पादन गरिएको थियो । ८० फिट लम्बाइको स्क्रिन हाउसमा ३६ फिट लामा १२ वटा सिड बेड तयार गरी आलुको बिउ उत्पादन गरिएको शेर्पाले बताए । यसरी उत्पादन गरिएको बिउ स्थानी किसानलाई आलु बिउ उत्पादन गर्न दिइने उनले बताए ।

यो प्रविधिबाट उत्पादन गरेको बिउ भाइरसमुक्त हुने र रोग प्रतिरोधात्मक क्षमता अधिक हुने कृषि विज्ञ प्रतिभा घिमिरे बताउँछिन् । यस्तो बिउको उत्पादन क्षमता पनि अधिक हुने उनले बताइन् ।

‘यसमा भाइरस लाग्दैन, सामान्य बिउको भन्दा उत्पादन धेरै हुन्छ’, उनले भनिन् । यस प्रविधिबाट उत्पादन गरेको आलुको पहिलो पुस्ताको बिउ निकै महँगो पर्ने शेर्पाले बताए । सो आलुको बिउ प्रतिदान २० रुपैयाँभन्दा बढी पर्ने उनले जानकारी दिए । यस वर्ष सो जातको आलुको करिब २ हजार केजी बिउ शैलुङमा उत्पादन भएको उनले बताए ।

रामेछापका शैलुङ क्षेत्र गुणस्तरीय र स्वादिलो आलु बिउ उत्पादनको लागि सबै भन्दा राम्रो क्षेत्र मानिन्छ । विगतमा परम्परागत आलु बिउ प्रयोग गर्दै आएका शैलुङका किसानले उन्नत जातको बिउ प्रयोग गरेपछि आलुको राम्रो उत्पादन गरिरहेका छन् ।शैलुङका किसानले वार्षिक लाखौँ रुपैयाँको आलु बिक्री गर्ने गरेका छन् । यसले स्थानीय जीवनस्तरमा सकारात्मक प्रभाव परिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस