कार्यालय प्रमुख नहुँदा सेवा प्रभावित, एक घण्टामै हुने काम तीन दिन कुर्नुपर्ने बाध्यता « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

कार्यालय प्रमुख नहुँदा सेवा प्रभावित, एक घण्टामै हुने काम तीन दिन कुर्नुपर्ने बाध्यता


८ मंसिर २०८०, शुक्रबार


सप्तरी । गृह मन्त्रालयले कार्यालय प्रमुखको व्यवस्था नगर्दा इलाका प्रशासन कार्यालय बोदे बर्साइन सप्तरीको सेवा प्रभावित भएको छ ।

कार्यालय प्रमुख नहुँदा एक घण्टामै हुने कामका लागि सेवाग्राहीले तीन दिनसम्म कुर्नु पर्ने बाध्यता छ । इलाका प्रशासनको कामकाजका लागि मन्त्रालयले नायब सुब्बा दिनेशकुमार राउतलाई कायममुकायम शाखा अधिकृतको जिम्मेवारी दिएको समयावधि सकिएपछि नयाँ व्यवस्था नहुँदा कार्यालय प्रमुख विहीन बनेको हो ।

मन्त्रालयले राउतलाई दिएको जिम्मेवारी गत असोज २५ मा सकिएको हो । विगत ३ वर्षदेखि कार्यरत राउतलाई यसअघि चार पटकसम्म कामुको जिम्मेवारी दिइएको थियो । तर, यसपटक न नयाँ कर्मचारी खटाइएको छ, न राउतलाई नै कामुको जिम्मेवारी दिइएको छ । डेढ महिनासम्म मन्त्रालयले कार्यालय प्रमुखको व्यवस्था नगर्दा नागरिकता वितरण, मधेसी, दलित, जनजाति प्रमाणीकरण तथा सिफारिस गर्ने लगायतका सेवा प्रभावित छन् । राउतले भने, ‘सेवाग्राहीका कागजपत्र जम्मा गर्ने र दुई÷तीन दिनमा राजविराज गलेर प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर गराउने गरिएको छ । एक घण्टामै हुने काम पनि तीन दिनसम्म लाग्ने गरेको छ ।’

इलाका प्रशासनबाट दिने सेवा रोकिएपछि जिल्लाका बोदे बर्साइन नगरपालिका, सुरूङ्गा नगरपालिका, खडक नगरपालिका, डाक्नेश्वरी नगरपालिका, बलान बिहुल गाउँपालिका गरी २६ वडाका सेवाग्राही मर्कामा परेका छन् । सेवाग्राही राजविराजमा रहेको जिल्ला प्रशासन कार्यालय जानु पर्ने बाध्यता छ ।

योसँगै इलाका प्रशासन कार्यालयका कर्मचारीको एक महिनाको तलबसमेत रोकिएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले इलाका प्रशासन कार्यालयको कायममुकायम शाखा अधिकृतको जिम्मेवारीको म्याद सकिएको विषयमा गृह मन्त्रालयलाई जानकारी गराई सकिएको बताए । ‘हामीले जानकारी गराइ सकेका छौं,’ उनले भने, ‘तलब खुवाउने अधिकार दिनका लागि पनि पत्राचार भएको छ । तर, आदेश आएको छैन ।’

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निजामती सेवा ऐनमा एउटै पदमा उही व्यक्तिलाई वा फरक-फरक व्यक्तिलाई लगातार कायममुकायम दिन नमिल्ने व्यवस्था भएकाले भइरहेको व्यक्तिलाई निरन्तरता दिन कानुनी अड्चन देखिएको हो । उनले भने, ‘नयाँ कर्मचारी खटाउने तयारी भइरहेको छ ।’२०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय बोदे बर्साइन स्थापनाकालदेखि नै निमित्तको भरमा चल्दै आएको छ । अधिकृतस्तरको दरबन्दी भए पनि मन्त्रालयले हालसम्म अधिकृत पठाउन सकेको छैन ।

त्यसो त जिल्ला प्रशासन कार्यालय सप्तरीमा पनि कर्मचारीको अभाव छ । सहायक प्रमुख जिल्ला अधिकारी काजमा काठमाडौँ गएपछि सेवा प्रवाहमा समस्या भएको हो । दरबन्दीको कर्मचारी नखटाउँदा र भएको कर्मचारी पनि काजमा अन्यत्र गइदिँदा प्रमुख जिल्ला अधिकारीमाथि कामको चाप बढेको छ । कार्यालयमा तीन जना अधिकृतको दरबन्दी छ । जसमा एउटा दरबन्दी रिक्त छ । एक जना बिदामा छन् भने भएका पनि काजमा हिडेंपछि समस्या भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस