भोलिको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानव अधिकार आयोगको आग्रह « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भोलिको प्रदर्शनलाई शान्तिपूर्ण बनाउन मानव अधिकार आयोगको आग्रह


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बिहीबार काठमाडौँमा तय भएको प्रदर्शनलाई शान्तिपूर्ण बनाउनुका साथै शान्ति सुरक्षाको व्यवस्था पनि प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

बिहीबार नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा राजधानीमा छुट्टाछुट्टै प्रदर्शन हुने भए पनि आयोगले यस्तो आग्रह गरेको हो ।  

प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यमहरू मार्फत सार्वजनिक भएका सूचना तथा सामाचारहरुप्रति राष्ट्रिय मानवअधिकार आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाएको छ ।  आयोगले मानव अधिकारको दृटिकोणबाट प्रदर्शनको अनुगमन गर्ने पनि स्पष्ट गरेको छ । 

‘आयोगले यस सम्बन्धमा विभिन्न सामाजिक सञ्जालहरुमा आएका अभिव्यक्तिहरु एवम् सञ्चार माध्यममा प्रकाशन, प्रशारण भएका सामग्रीहरूलाई गम्भीर रूपमा लिई नजिकबाट अध्ययन गरिरहेको छ । दुवै पक्षबाट शक्ति प्रदर्शन गर्ने र आरोप प्रत्यारोपयुक्त अभिव्यक्तिहरु दिने जस्ता गतिविधिहरू भएको पाइएकोले यसबाट सर्वसाधारण नागरिकहरूमा भय र त्रासको अवस्था सिर्जना भएको पाइएको छ’, आयोगको विज्ञप्तिमा उल्लेख छ । 

लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भए पनि प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयतता अपनाउनु प्रदर्शनकारीहरूकै प्राथमिक दायित्व हुने स्मरण गराएको छ ।  ‘अतः नेपालको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनमा उल्लिखित प्रावधानहरुको पालनामा संवेदनशील हुँदै आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आयोग प्रदर्शनरत पक्षलाई आग्रह गर्दछ । शान्तिपूर्ण रूपमा भेला हुने अधिकारको सम्मान गर्दै नागरिकहरुमाथि अनावश्यक बल प्रयोग नगर्न तथा प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस