राष्ट्रपति पौडेलले गरे कमलपोखरी पुगेर छठ पूजा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रपति पौडेलले गरे कमलपोखरी पुगेर छठ पूजा


३ मंसिर २०८०, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठ पर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजा स्थलमा छठीमाताको पूजा गरेका हुन् ।

राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजाअर्चना गरे । काठमाडौँ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजा स्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजा अर्चना भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठपूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले छठीमाताको पूजा गरेको कमलपोखरी छठ पूजा समाजका सल्लाहकार दीपेन्द्र झाले जानकारी दिए ।

छठ पूजाका लागि पोखरी ध्वजापताकाले सिङ्गारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल पनि छठीमाताको पूजा अर्चनाका लागि कमलपोखरी पुगेका थिए ।

भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ । ललितपुरको कुपण्डोललगायत क्षेत्रमा पनि छठ पूजाको रौनक बढेको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकाङ्क्षा पूरा हुने तथा सम्पूर्ण दुःखकष्ट हटेर जाने जनविश्वास छ ।

यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठ पर्वको उपलक्ष्यमा पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सक्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस