उदाउँदो सूर्य र अस्ताउँदो सूर्य लाई अर्घ्य दिई मनाइने छठ पर्वलाई सूर्य उपासनाको पर्व भनेर पनि चिनिन्छ । लक्ष्मी पूजाको छैठौ दिन अर्थात् कार्तिक शुक्ल षष्ठी तिथिमा सूर्यदेवको उपासना गरी छठी मैयाँको पूजा आराधना गरी मनाइने छठ पर्व ४ दिनसम्म मनाइन्छ। यो पर्व अन्य पर्वको तुलनामा अलग र विशेष प्रकृतिको हुन्छ । यस पर्वले जहाँ धार्मिक परम्परालाई डोर्याउदै ल्याएको छ भने त्यही यस पर्वले सबै जाति, वर्ग, समुदायलाई एकताको सूत्रमा बाँध्ने प्रयास गरेको छ। एकताका तराईवासी र तराईको पनि निश्चित भू-भागमा मात्र मनाइने यो पर्व मधेसी वर्ग र तराईमा मात्र सीमित नभएर आज काठमाडौं उपत्यकादेखि लिएर तराईसहित पहाडी भू-भागमा समेत हर्षोल्लासपूर्वक मनाउँदै आएको देखिन्छ । छठ पर्व नेपाल र भारतको विभिन्न भू(भाग, प्रदेश लगायत विदेशमा रहने हिन्दु धर्मावलम्बीहरूले आफू रहे बसेको स्थानमा पनि मनाउने गरेको पाइन्छ । यस पर्वमा उच नीच जाति भनेर छुट्याइएको पाइँदैन ।यस पर्वमा ब्राह्मण, क्षेत्री, मधेसी नेवार जनजाति दलित लगायतका सबै जातजातिहरूले एउटै पोखरी तलाउ नदी कुण्ड जस्तो जलाशय क्षेत्र घाटमा आ आफ्नो तरीकाले विधि विधान अनुसार पूजा अर्चना गरेको पाइन्छ । भन्नु पर्दा आजको समयमा सबै वर्ग र समुदायको छठ पर्वमा ठुलो सहभागिता र विश्वास रहेको पाइन्छ ।यस पर्वमा धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता छ ।
२ वर्ष अघि कोरोनाले विश्वलाई नै अक्रान्त र थिलथिलो बनाएको समयमा सामूहिक रूपमा भेला हुने पूजापाठ गरिने मन्दिर प्रवेश जस्ता कार्यमा रोक लागेको थियो सो समयमा व्रतालुहरूले घरमा रहेको कुवामा छतमा भाडाकुडामा आँगनमा खाडल खनेर खाडलमा पानी जम्मा गरेर समेत यो पर्वलाई पारिवारिक उपस्थितिमा मनाउँदै निरन्तरता दिएका थिए ।काहि कतै बाधा अड्चन आएको थिएन ।कोरोना कालको अन्त्य सँगै यस पर्वमा दिनानुदिन श्रद्धालु तथा व्रतालुको सख्या बढ्नुका साथै विश्वास पनि बढी आएको छ ।
किंवदन्ती अनुसार एक समयमा एक देशका एक जना राजा प्रियवन्त थिए, जसका कुनै सन्तान थिएनन् । सन्तान अर्थात् पुत्र प्राप्तिको लागि राजाले कश्यप ऋषिबाट पुत्र रत्न प्राप्तिको लागि यज्ञ गराए । जसमा आहुतिको लागि तयार गरिएको खीर रानी मालिनीलाई खान दिइयो । नभन्दै नौ महिनापछि रानी मालिनीले पुत्रलाई जन्म दिइन् तर दुर्भाग्यवश पुत्र मृत जन्म्यो । यो घटना सुनेर राजा प्रियवन्तः अति दुःखित भए र अन्त्यमा आफ्नो प्राण त्याग गर्न जलाशयमा प्राणको आहुती दिन लागे । सोही समयमा माता षष्ठी देवी प्रकट भइन् र राजालाई मेरो पूजा गरे तिमीलाई पुत्रको सुख प्राप्त हुनेछ भनेर आशीर्वाद दिइन् र निश्चित समयको अन्तरालमा रानी मालिनीले पुनः पुत्र रत्न प्राप्त गरिन् भन्ने भनाइ छ र त्यसै बेलादेखि छठ माता ९षष्ठी देवी०( को पूजा आराधना गरी आएको पाइन्छ ।
धार्मिक ग्रन्थ पुराण एवम् उपनिषद्हरूमा छठ पर्वको महिमा बारेमा विभिन्न रोचक तथ्यहरूको व्याख्या गरेको पाइन्छ। द्रौपदीले छठ व्रत गर्दा धर्मराज युधिष्ठिरलाई युद्धमा विजय हासिल गर्न सहज हुनुका साथै आफ्नो गुमेको राज्यसहित सर्व सम्पत्ति प्राप्त गर्नेसम्मको सौभाग्य प्राप्त भएको थियो ।
छठ पर्वमा छठ माता षष्ठी देवी को मात्र पूजा उपासना नभएर सूर्यदेवको समेत पूजा उपासना गर्ने गरिन्छ। यो छठ पर्व जहाँ धार्मिक दृष्टिकोणले जति उत्कृष्ट छ, त्योभन्दा बढी सामाजिक र वातावरणीय दृष्टिकोणले समेत महत्त्व बोकेको पाइन्छ । यस पर्वलाई शुद्धता र अहिंसाको पर्व भन्दा पनि अत्युक्ति नहोला । लक्ष्मीपूजाभन्दा अगावै घर आँगन सरसफाइ तथा रङ रोगन गरेपछि घरमा माछा, मासु, मदिरासहित लसुन तथा प्याज निषेध गरिएको हुन्छ घरमा पूजालाई आवश्यक पर्ने प्रसाद उखु, केरा, स्याउ, सुन्तला, भोगटे, नरिवल, सख्खर (चिनी), आटा लगायतका सामग्रीहरू घरमा ल्याउन थालेपछि त्यसलाई सफा र अलग्गै कोठामा राख्ने गरिन्छ र नियम विधिअनुसार चोखो र सरसफाइलाई ध्यान दिई पूजा कार्य प्रारम्भ गरिन्छ। पूजा सामग्रीलाई जूठो हातले छुनु, जुठो पार्नु र कुनै पशुपन्छीसमेतले जुठो पारेको प्रसाद सामग्री छठ पूजाको लागि अपवित्र मानिन्छ ।
छठ व्रत बस्नाले पारिवारिक सुख(शान्ति पाइने, स्वस्थ रहने, दुःख दरिद्रताबाट मुक्त हुने विश्वास रहिआएको छ। छठको अन्तिम दिन अर्थात् सप्तमी तिथिमा उदाउँदो सूर्यलाई जल अर्पण गर्दा शरीर स्वस्थ हुने चर्म रोग ठिक हुने वैज्ञानिक आधार रहेको पाइन्छ । अन्य दिनको तुलनामा उक्त दिन सूर्यबाट निस्कने किरण (तेज) शरीरको लागि फाइदाजनक हुने मानिन्छ । ब्राह्मण, क्षेत्रीदेखि लिएर सबै जातजातिले अछुत मानिएका समुदायले तयार गरेको बाँसको सामग्री डालो, सुप आदिमा पूजाका लागि तयार गरिएको प्रसाद राखी छठ मातालाई अर्पण गर्नुपर्ने हुन्छ भने पूजा स्थलमा समेत एकै ठाउँमा बसी पूजा आराधना गरेको पाइन्छ। सबै जाति र समुदायका परिवारका सबै सदस्यहरू मिली। एउटै स्थलमा एकै ठाउँमा एउटै समयमा पूजा गरिने हुनाले छठ पर्वलाई समावेशी पर्वको रूपमा लिन सकिन्छ ।
विशेष गरी कार्तिक शुक्ल चतुर्थीको दिनदेखि छठ पर्व आरम्भ हुन्छ। छठ पर्वको पहिलो दिन व्रतालुहरू बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध शाकाहारी भोजन गर्दछन्।यस दिनलाई नहाय खाय भनिन्छ ।
दोस्रो दिनलाई खरना भनिन्छ। यस दिनमा नुहाएर चोखो भई व्रतालुहरूले खीर, लौकाको तरकारीजस्ता शुद्ध भोजन ग्रहण गर्दछन्। यस दिनमा एक छाक साँझपख मात्र भोजन गरिन्छ । तेस्रो दिन अर्थात् षष्ठी तिथिमा व्रतालुहरू दिनभरि व्रत बसी साँझ नदी, तलाउ, कुण्ड, जलाशय जहाँ पानी छ, त्यहाँ गएर अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई पूजा आरम्भ गरेका हुन्छन् भने छठको चौथो तथा अन्तिम दिन अर्थात् सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा सम्पन्न गर्ने गर्दछन् ।
जसरी दसैँमा टाढा(टाढा देश(विदेशमा रहेका दाजुभाइ, दिदी(बहिनीहरू बाबु( आमासँग टीका ग्रहण गर्न घर आउँछन्, त्यसरी नै यो पर्वमा घर बाहिर रहेका आफ्ना छोराछोरीलगायत परिवारका सदस्य, नातेदार, इष्टमित्र एकत्रित भई हर्षोल्लासपूर्वक यो सद्भावको पर्वमा सहभागी हुने परम्परा चलिआएको छ । छठ पर्वले छरिएर रहेका परिवारलाई एकताको सूत्रमा गाँस्ने कार्य गरेको देखिन्छ । मनमुटाब, भई(झगडालाई बिर्सिएर आशीर्वाद लिने, प्रसाद मागेर पनि खानुपर्ने जस्ता एउटा अलग आत्मीय सम्बन्धको विकास गर्ने यो पर्वको विशेष महत्त्व छ ।
आजको समयमा छठ पर्वको नाममा समाजमा धेरै विकृति र नकारात्मक पक्षहरू बढ्दै गएको देखिन्छ । एकातिर छठ पर्व मनाउन भनेर घर आँगन वरपर सफा गर्ने तथा स्वच्छ राख्ने कार्य गरिन्छ भने अर्कोतर्फ छठ पर्व गर्ने क्रममा खोला, नदी(नाला, पोखरी, तलाउ, कुण्डजस्ता पानीका स्रोतहरूमा पूजामा प्रयोग गरिएका प्लास्टिकजन्य सामग्रीहरू झोला, चिया पिउने कप, गिलास, अगरबत्ती र सलाईका खोलहरू, पानीका बोतलहरू फाल्ने कार्य हुन्छ । यो पर्वमा ३६ घण्टासम्म उपवास बस्नुपर्ने भएकोले रोगी, अशक्त प्रकृतिका महिला( पुरुषहरूलाई कठिनाइ हुने गर्छ। साथै उनीहरूलाई स्वास्थ्यको दृष्टिकोणले उपयुक्त नहुन सक्छ। हरेक वर्ग, समुदायका मानिसहरूले आफ्नो शक्ति र सामर्थ्यअनुसार यो पूजा गर्न सकिने भए तापनि आधुनिकताको नाममा बढी खर्च गरी अहमता देखाउने परिपाटीको अन्त्य गर्नुपर्ने हामी सबैको जिम्मेवारी रहेको देखिन्छ ।
स्थानीय क्षेत्र तथा स्थलमा गरिने यो पूजालाई स्थानीय सरकारले पनि चासो दिनु जरुरी छ । सरसफाइदेखि लिएर हुनसक्ने भई( झगडा, चोरी र पटाका आतिशबाजीमा समेत स्थानीय निकाय तथा तहको ध्यान जानुपर्ने देखिन्छ । पूजा स्थलमा उत्पन्न हुने फोहोर मैलालाई व्यवस्थापन गर्न पूजा व्यवस्थापन समिति तथा क्लबहरूले स्थानीय गाउँपालिका तथा नगर पालिकाहरूसँग समन्वय गरी आफ्नो अहम् भूमिका निर्वाह गर्नु आवश्यक छ ।
यति धेरै सद्भाव, आस्था र विश्वास बोकेको यो पर्वलाई सबै क्षेत्रबाट उत्तिकै महत्त्व दिन सके यो पर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्रको विकासमा समेत सघाउ पुयाउनेमा दुई मत छैन । यो पर्वले धार्मिक तथा सामाजिक सद्भाव कायम गर्ने भाइचारा बीचमा असल अन्तर सम्बन्ध कायम गर्ने भएकोले सबैको इष्टदेव सूर्यको पूजा उपासना गर्ने भएकोले हरेक धर्म समुदायका मानिसहरू स्वतःस्फूर्त यस पर्वलाई आत्मसात् गर्ने र मान्ने क्रम बढ्दै गएको छ ।
दसैँ तिहार जस्तै यस पर्वलाई बाहिर देश बाट आएको हामी नेपालीको यो पर्व होइन लादिएको पर्व हो जस्ता सद्भाव बिथोल्ने किसिमको अभिव्यक्ति दिएर अराजक बन्ने प्रयास नगर्नु नै हामी सबैको हितमा हुने कामना गर्दै छठ माता तथा सूर्य देवले हामी सबैको कल्याण गरुन् भन्ने कामना गर्दछु ।