मेयर बालेनले गरे नाटककार बालकृष्ण समको जन्म घर निरीक्षण « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

मेयर बालेनले गरे नाटककार बालकृष्ण समको जन्म घर निरीक्षण


२४ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रको सम्पत्तिको रूपमा संरक्षण गर्नुपर्ने, मर्मत सम्भार गर्नु पर्ने काममा काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने प्रमुख बालेन्द्र साह (बालेन) ले बताएका छन् ।

आज कमलपोखरीस्थित बालकृष्ण सम जन्मिएका (करिब १३० वर्ष पुरानो) भवनको निरीक्षण अवलोकन गर्दै उनले संस्कृति, परम्परा र सम्पदा बचाउने, सहरी क्षेत्रमा खुला स्थान जोगाउने र बढाउने कामलाई प्राथमिकता दिएको बताएका हुन् ।

‘सरकारको स्वामित्वमा भएका जग्गा लिजमा लिएर खुल्ला पार्क निर्माण गर्ने र सकेसम्म धेरै खुल्ला ठाउँ बचाउने कार्यक्रमलाई प्राथमिकता दिएका छौँ । त्रिपुरेश्वरमा खुल्ला र जीवन्त सङ्ग्रहालय निर्माण गर्न थालेका छौँ । त्यहाँ परम्परागत र कलात्मक सिपसँग सम्बन्धित क्रियाकलाप हुनेछन् । यसबाट संस्कृति बचाउन र कला जोगाउन मद्दत पुग्नेछ । सबैले राष्ट्रका लागि काम गर्ने हो, मिलेर गरौँ’, बालेनको भनाई छ । 

यो क्षेत्रमा शैक्षिक र बौद्धिक क्रियाकलाप सञ्चालन गर्न समकी भाञ्जी (घर जग्गाको स्वामित्ववाला) डिलाइट सिंहले २०७५ साल काठमाडौँ विश्वविद्यालय बालकृष्ण सम शैक्षिक गुठीलाई जमिन र भवन प्रदान गरे । यसको तल्लो तलामा सिंह आफैँ बसोबास गर्छन् ।

कुराकानीका क्रममा उनले, समले स्थापना गरेका फोटो स्टुडियो, उनले कोरेका चित्र यही भवनमा रहेको बताए । १९९० सालको भूकम्प अघि भवन ४ तलाको थियो । माथिल्लो तलामा बार्दली थियो ।

त्यसलाई पुननिर्माण गरेर पूर्ववत बनाउँदा भन्दा माथिल्लो तला घटाउँदा बलियो हुने प्राविधिकबाट सुझाव प्राप्त भएपछि माथिल्लो तला घटाएर ३ तलाको बनाइएको हो । 

२ रोपनी २ आना क्षेत्रफलमा २ वटा भवन छन् । पछिल्लो भवन काठमाडौँ विश्वविद्यालयले सबलीकरण गरेर सञ्चालनमा ल्याएको छ । प्रवेश गर्ने बित्तिकैको भवन सबलीकरण गर्नुपर्ने अवस्थामा छ । यसका लागि विश्वविद्यालयले प्रारम्भिक डिजाइन र लागत अनुमान तयार पारेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस