आरती साह प्रकरण: पीडित परिवारद्वारा मानव अधिकार आयोगलाई ज्ञापन पत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आरती साह प्रकरण: पीडित परिवारद्वारा मानव अधिकार आयोगलाई ज्ञापन पत्र


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । धनुषामा हत्या गरिएकी आरती साहका दोषीमाथि कारबाही र पीडितलाई न्यायको माग गर्दै उनका परिवारले मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् ।

दोषीमाथि कडा कारबाही माग गर्दै आज आयोगको कार्यालयमा पुगेर उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् । त्यस क्रममा आयोगका अध्यक्ष मगरले उक्त घटनाबारे अनुसन्धान भइरहेको भन्दै छिटो टुङ्गो लगाउने प्रयास भइरहेको बताएका थिए ।

उनले भने, ‘सबै कागजपत्र नआइकन हामीले बोल्नु हुँदैन, अदालतमा पनि मुद्दा परेको छ । अदालतमा भएको आवश्यक प्रतिलिपि मागेका छौ, त्यो सबै संकलन भएर नआउन्जेल अहिले हामीले केही भन्ने कुरा हुँदैन । अनुसन्धान भइरहेको छ, हामी लागि रहेका छौ ।’

पीडित परिवारले सरकारले न्याय नदिएको आरोप लगाउँदै आयोगमा रुँदै न्यायको माग गरे । पीडित परिवारले गत असार १ देखि हालसम्म आफ्ना मागहरू अघि सार्दै २४ घण्टे धर्नामा बस्दै आएका छन् । आरती साहको मृत्यु प्रकरणलाई न्यायिक छानबिन समिति गठन गरी विशेष अनुसन्धान गर्नुपर्ने, पीडित पक्षलाई कुटपिट गर्ने प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने, त्रुटिपूर्ण पोस्टमार्टमबारे विषेश जाँच गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।

यसैगरी, जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला र सहायक जिल्ला न्यायाधिवक्ता अजित कर्णको भूमिकाबारे छानबिन गर्न, गर्भवती उपचारसम्बन्धी त्रुटिपूर्ण पक्षबारे विशेष जाँच गरी वास्तविक प्रतिवेदन बनाउन, पीडित परिवार र आरतीका मामा सन्तोष साहको परिवारका सदस्यलाई विशेष सुरक्षाको प्रबन्ध गर्नुपर्ने लगायत आठ सूत्रीय माग ज्ञापन पत्रमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस