किर्ते गरी जग्गा बिक्री गर्ने भारतीय नागरिकविरुद्ध पाँच करोडको मुद्दा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

किर्ते गरी जग्गा बिक्री गर्ने भारतीय नागरिकविरुद्ध पाँच करोडको मुद्दा


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते कागजात बनाएर बिक्री गरेको आरोपमा भारतीय नागरिक अनुप मेहरामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो जग्गा प्रकरणमा भारतीय नागरिक मेहरामाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

गैरनेपाली नागरिकलाई नक्कली जग्गाधनी खडा गरी जग्गा बिक्री वितरण गरी भ्रष्टाचार गरेको मुद्दामा जग्गा बिक्रीकर्ता मेहरा रहेको आयोगको छानबिनबाट देखिएको थियो । भारतीय नागरिक मेहराले हदबन्दीबाट नेपाल सरकारको नाममा आउनुपर्ने जग्गाहरू भूमिसुधार कार्यालय नवलपरासीका तत्कालीन भूमिसुधार अधिकारीलाई प्रलोभनमा पारी मिलेमतो गरी गलत कागजातका आधारमा कानुन विपरीत तीन परिवार सङ्ख्या कायम गरी गैर-कानुनी निर्णय गर्न लगाएका थिए ।

मेहरालाई सहयोग गर्ने नवलपरासीस्थित मालपोत कार्यालयका तत्कालीन कार्यरत प्रमुख मालपोत अधिकृतसमेतलाई यसअघि नै आयोगले विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मेहराको नामबाट बिक्री वितरण भएको जग्गाको लिखत मूल्य पाँच करोड पाँच लाख ४२ हजार थियो ।

जग्गा बिक्री गर्ने कसुरमा संलग्न भारतीय नागरिक मेहरालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १ (ज) र सोही ऐनका दफा १७, दफा ९ र दफा १२ बमोजिमको कसुरको सम्पत्ति लिने खाने प्रकारको मतियार रूपमा आयोगले विशेषमा मुद्दा दर्ता गरेको थियो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार यसअघि मुद्दा दर्ता गरिएका मालपोत र भूमिसुधार कार्यालयका कर्मचारीलाई गरिएको सजाय सरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुरमा सजाय मागदावी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस