तिब्बत सरकारले भूकम्प प्रभावितका लागि ५ करोड सहयोग दिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तिब्बत सरकारले भूकम्प प्रभावितका लागि ५ करोड सहयोग दिने


२३ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङले जाजरकोट–रुकुम भूकम्प प्रभावितका लागि ५ करोड नेपाली रुपैयाँ सहयोग गर्ने बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहीबार बिहान बालुवाटारमा भएको भेटवार्तामा सीपीसी नेता वाङले प्रभावित क्षेत्रमा तुरुन्तै पुग्ने गरी सहयोग गर्ने बताएका हुन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाका अनुसार वाङले चीन सरकारले गरेको भन्दा छुट्टै सहयोग घोषणा गरेका हुन् ।

पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आएका उनले ‘प्रचण्ड’सँगको भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको सल्लाहकार सापकोटाले जानकारी दिए । यस्तै भेटका क्रममा संघीय मामिला मन्त्रालयसँग सन् २०२४ देखि ०२८ सम्म नेपालको स्वास्थ्य, शिक्षा र जीवनस्तर उकास्नका लागि २० मिलियन आरएम्बी (२६ करोड ४५ लाख नेपाली रुपैयाँ) सहयोग गर्ने बारे एमओयू गर्ने विषयमा छलफल भएको छ । वाङको नेपाल भ्रमणकै क्रममा मन्त्रालयसँग यस विषयमा एमओयू हुने छ ।

डिसेम्बर १३ बाट केरला नाका सञ्चालनमा ल्याउने र परम्परागत नाकाहरूलाई पनि यथाशीघ्र सञ्चालनमा ल्याउने विषयमा छलफल भएको सापकोटाले जानकारी दिए । सीपीसीका नेता वाङले तिब्बतको ल्हासा विमानस्थल पूननिर्माणको काम सम्पन्न भइसकेको भन्दै छिट्टै नेपाल र ल्हासाबीच पुनः हवाई सञ्चालन गर्ने बताएका छन् ।

यससँगै चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौतालाई कार्यान्वयनमा लैजाने विषयमा पनि भेटमा छलफल भएको छ । ‘प्रचण्ड’ले उक्त सम्झौता कार्यान्वयनमा लैजानका लागि चिनियाँ पक्षले देखाएको सक्रियताका लागी सीपीसी नेतालाई धन्यवाद व्यक्त गरेका छन् । वाङले बुधबार नेपाल आएलगत्तै उपराष्ट्रपति रामयसहाय प्रसाद यादवलाई भेटेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस