काठमाडौँ । पाटन अस्पतालको जेष्ठ नागरिक वार्डमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको घटनाप्रति नेपाल चिकित्सक सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दुई जेष्ठ नागरिकको मृत्युको विषयलाई लिएर शनिबार चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिई अमानवीय क्रियाकलाप गरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको सङ्घले जनाएको हो ।
सङ्घका महासचिव सञ्जीव तिवारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने गरेका यस्ता अस्वाभाविक र निकृष्ट गतिविधिले समग्र स्वास्थ्य सेवा प्रवाहमा नै गम्भीर असर पर्ने भएको हुनाले उक्त घटनामा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन) बमोजिम कानूनी कारवाही गरी शान्तिपूर्ण र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण तयार गर्न यस सङ्घ जोडदार माग गर्दछ ।’
अस्पतालमा शनिबार सुई मार्फत एन्टिवायोटिक औषधि दिँदा ओखलढुङ्गाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको थियो । सोही घटनालाई लिएर मृतकका आफन्तले चिकित्सकमाथि हातपात गरेका थिए ।
उपचारको क्रममा कुनै आशङ्का उत्पन्न भए सो सम्बन्धी कानूनी माध्यमबाट सत्य तथ्य छानबिन गरी कानून बमोजिमको दण्ड सजायको भागिदार जोसुकै हुने कानूनी प्रावधान विपरीत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई कुटपिट गर्ने, ज्यानै लिने प्रकारका अपराधजन्य गतिविधिमा संलग्न हुनु न्यायोचित नभएको सङ्घको ठहर छ । जेष्ठ नागरिकहरूको के कति कारणले मृत्यु भएको हो सो सम्बन्धमा सत्य तथ्य छानबिन गरी यथार्थ सार्वजनिक गर्न पाटन अस्पताललाई समेत सङ्घले अनुरोध गरेको छ ।