मेयरको रोजाइमा कनिष्ठ परेपछि वृन्दावनमा प्रशासनिक काम ठप्प « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मेयरको रोजाइमा कनिष्ठ परेपछि वृन्दावनमा प्रशासनिक काम ठप्प


१७ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव सुरेन्द्र प्रधानलाई असोज २६ मा रौतहटको वृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दियो । फतुवा विजयपुरमा सरुवा भएका प्रधानलाई कार्यालयको काममा बाधा नपर्ने गरी मन्त्रालयले वृन्दावनको कामकाज सहजीकरण गर्न आर्थिक तथा प्रशासनिक अधिकारसहित थप जिम्मेवारी दिएको थियो । 

प्रधानलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि वृन्दावन नगरपालिकाका प्रमुख विनोद कुमार कुर्मी सामान्य प्रशासन मन्त्रालय पुगे । उनले प्रधान नगरपालिकामा हाजिर हुन नआएको भन्दै नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन मन्त्रालयमा दबाब दिए ।

उता प्रधानलाई ‘अहिलेलाई ठिकै छ, बिस्तारै आउनु होला नि’ भन्ने यता मन्त्रालय आएर हाजिर हुन आएन, जसरी पनि अर्को व्यक्ति चाहियो भनेर धर्ना कसे । किनकि मेयर कुर्मीको उद्देश्य आफूले चाहेको कनिष्ठलाई निमित्त दिलाउनु थियो । मन्त्रालयले दसैँमा तलब खुवाउने गरी प्रधानलाई पठाए पनि कुर्मीको दबाबमा अर्को व्यक्तिलाई निमित्त तोक्ने काम गर्‍यो  । 

सम्बन्धित समाचार : एउटै पालिकामा दुई प्रमुख प्रशासकीय अधिकृत, मन्त्रालयले नै विवादित बनायो

कागजात पेस गरेर कुर्मीले कार्तिक १ गते पालिकामै कार्यरत नेपाल स्वास्थ्य सेवा, हेल्थ इस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका रासनारायण पटेललाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाई जिल्ला फर्किए । असोज २६ मा उपसचिव प्रधानलाई दिएको जिम्मेवारी प्रति बेखबर रहँदै मन्त्रालयले पनि कुर्मीकै चाहना अनुसार पटेललाई निमित्त दियो । जसको परिणाम स्वरूप केही समय नगरपालिकाको एउटै पदमा दुई जना प्रमुख प्रशासकीय अधिकृत बने । स्रोतका अनुसार नगर प्रमुख कुर्मीले आफैँ कागजात तयार गरी मन्त्रालयमा बुझाएका थिए । 

निमित्त भएका पटेलले कार्तिक ३ मा तलब खुवाउने काम गरे । पटेलले कार्यभार सम्हालेपछि उपप्रमुख संगीता कुमारी रामले प्रधानलाई बोलाई पालिकामा हाजिर गर्न लगाइन् । जब प्रधानसहितको टोली कोष तथा लेखा नियन्त्रण कार्यालयमा खाता सञ्चालनका लागि पुग्यो तब घटना सतहमा आयो । एउटै पालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत भएको विषयले चर्चा पनि पायो । मन्त्रालयले दुई कर्मचारीलाई एउटै पदको जिम्मेवारी दिएपछि कोष तथा लेखा नियन्त्रकको कार्यालय(कोलेनिका)ले खाता बन्द गर्‍यो  ।

नगर प्रमुख कुर्मीले प्रधानलाई म आउँछु र हाजिर गराउँछु भन्ने आश्वासन दिएर कुराएको र त्यही मौका छोपी मन्त्रालय पुगेर प्रधान नआएको भन्दै अर्को प्रमुख प्रशासकीय अधिकृत लिएर गएको नगर उपप्रमुख रामको आरोप छ । तर, नगर प्रमुख कुर्मीले प्रधान नआएका कारण नयाँ प्रमुख प्रशासकीय अधिकृत खोज्नु परेको जानकारी दिए । उनले प्रधानको हाजिरी वैधानिक नभएको बताए । प्रमुख हुँदाहुँदै उपप्रमुखले हाजिर गराउन नमिल्ने उनको भनाइ छ ।

जनप्रतिनिधिको राजनीतिक प्रतिशोधका कारण लामो समयदेखि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विहीन छ । जसका कारण पालिकाको प्रशासनिक काम ठप्प छ । आर्थिक वर्ष सकिने बेलामा गत असारमा दुई दिन र दसैँको बेलामा तलब खुवाउन एक दिन पटेलले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाए । उनले भने, ‘असारमा दुई दिन काम गरेको थिएँ । दसैँ अघि एक दिन काम गरे । नागरिकको काम समयमा हुन सकेको छैन । समस्या छ ।’ 

लामो समयदेखि प्रशासनिक काम रोकिएको नगरपालिकामा मन्त्रालयले उपसचिवलाई जिम्मेवारी दिएको थियो । मन्त्रालयले उपसचिव तहको कर्मचारी नगरपालिकामा पठाए पनि कुर्मीले एसम्यानका रूपमा कनिष्ठ कर्मचारी नै रोजेका कारण समस्या उत्पन्न भएको स्रोतको दाबी छ । ‘वरिष्ठको आधारमा मन्त्रालयले कर्मचारी तोकेपछि काम गर्न दिनुपर्ने हो । तर, मेयरले कनिष्ठ रोजे, क्षमतावानलाई काम गर्न दिनुपर्छ,’ मन्त्रालय स्रोतले भन्यो । नगर प्रमुख कुर्मीले पनि मन्त्रालयले पठाएको उपसचिवलाई हाजिर गराउनुको साटो अर्को प्रमुख प्रशासकीय अधिकृतका लागि मन्त्रालय धाउने र निमित्त खोज्ने कुराले पनि यसलाई पुष्टि गर्छ । 

मन्त्रालयले कार्तिक १४ को निर्णय अनुसार सुरेन्द्र प्रधान वृन्दावन नगरपालिकामा हाजिर भएको अवस्थामा उनकै नाममा खाता सञ्चालन गर्न अख्तियारी दिएको छ । नगरपालिकामा हाजिर भएको अवस्थामा प्रधानलाई खाता सञ्चालनको लागि अख्तियारी दिएर मन्त्रालयले पठाएको पत्र बुधबार कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहटमा पुगेको हो । कार्यालयका प्रमुख राजन कुमार फुयाँलका अनुसार प्रधानका नाममा खाता सञ्चालन भई सकेको छैन । प्रधान हाजिर भई सबै कागजात लिएर आएमा खाता सञ्चालन हुने उनले बताए । यो अख्तियारीसँगै प्रधान नै वृन्दावनका प्रमुख प्रशासकीय अधिकृत हुन् भन्ने स्पष्ट भएको छ । तर, उनी कार्यालयमा हाजिर भने भएका छैनन् ।

पछिल्लो समय कर्मचारी सरुवामा विवादित बनेकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले वृन्दावनको हकमा दुवै कर्मचारीलाई फिर्ता गर्नुपर्ने बताउने गरेकी छन् । वरिष्ठको आधारमा प्रधानलाई जिम्मेवारी दिए पनि मन्त्री निर्णयमा अडिग हुन नसक्दा समस्या आएको जानकारहरू बताउँछन् । राजनीतिक दबाबका कारण तराइका केही स्थानीय तहमा यस प्रकारकै समस्या देखिएको छ । मन्त्री साहकै जिल्लामा ११ वटा स्थानीय तहमध्ये ८ वटा निमित्तको भरमा चलिरहेका छन् ।

र, उनको सचिवालय ठिकठाक चलिरहेका पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेर पैसो उठाउने मेलोमा लिप्त रहेको गुनासो कर्मचारीहरूले गर्न थालेका छन् ।   

Tags :
प्रतिक्रिया दिनुहोस