विष्णु पौडेललाई वर्षमानको जवाफ-तपाईँ उपप्रधानमन्त्री भएकै बेला जनयुद्ध दिवस मनाउने निर्णय गरिएको हो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विष्णु पौडेललाई वर्षमानको जवाफ-तपाईँ उपप्रधानमन्त्री भएकै बेला जनयुद्ध दिवस मनाउने निर्णय गरिएको हो


१६ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले नेकपा (एमाले) सरकारमा भएका बेला नै फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय भएको बताएका छन्।

एमाले नेता विष्णु पौडेल उपप्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषद्ले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको पुनले बताए।

पौडेलले फागुन १ गतेदेखि मुलुकमा हिंसा सुरु भएकाले यसलाई दिवसका रूपमा मनाउन नमिल्ने बिहीबारको प्रतिनिधि सभा बैठकमा बताएका थिए।

पौडेलले जनयुद्ध दिवस मनाउने निर्णय गरेर गठबन्धन बनेको र नेपाली काँग्रेस पनि त्यसैमा सहभागी भएको टिप्पणी गरेका थिए।

‘हिंसा सुरु भएको दिनलाई जनयुद्ध दिवस मानेर बिदा दिने निर्णय सरकारबाट भएको छ, काँग्रेस त्यसैमा सहभागी छ,’ पौडेलले भने, ‘यदि यो सरकारसँग आँट छ भने जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा लिएर आओस् त्यसको निर्णय जनप्रतिनिधिले गर्छन्,हामीले गर्छौँ।’

उनीपछि बोलेका मा‌ओवादीका उपमहासचिवसमेत रहेका पुनले नेताहरूले संस्कार र संस्कृति सुधार गर्नुपर्ने बताउँदै जनयुद्ध दिवस मनाउने निर्णय विष्णु पौडेल उपप्रधानमन्त्री रहेको मन्त्रिपरिषद्ले गरेको स्मरण गराएका थिए।

‘माघ १९ गते त्यो निर्णय भएको रहेछ। पूर्ववक्ता माननीयज्यू त्यतिबेला उपप्रधानमन्त्री हुनुहुँदो रहेछ। त्यही क्याबिनेटले गरेको रहेछ,’ उनले भने, ‘हामी आफैँ गर्ने अर्को ठाउँमा जाँदा त्यही फेरि अर्कै हुने कसरी हुन्छ ?’

Tags :
प्रतिक्रिया दिनुहोस