काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफूले जारी गरेको विज्ञप्तिप्रति केही सरोकारवालाहरूको बुझाई अन्यथा हुन गएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।
आइतबार मन्त्रालयले जारी गरेको विज्ञप्ति सम्बन्धित परिषदमा दर्ता भएका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूको परामर्शमा सेवन गर्ने औषधि व्यवस्था विभागमा दर्ता भएका आयुर्वेद औषधिहरू तथा नेपाल गुणस्तर चिन्ह प्राप्त पेन्ट, श्रृगांरका सामग्री, नुडल्सको विषयमा नभएको स्पष्ट पारेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त विज्ञप्ति सम्बन्धित परिषद्मा दर्ता भएका चिकित्सक एवम् स्वास्थ्यकर्मीहरूको परामर्शमा सेवन गर्ने औषधि व्यवस्था विभागमा दर्ता भएका आयुर्वेद औषधिहरू तथा नेपाल गुणस्तर चिन्ह प्राप्त पेन्ट, श्रृगांरका सामग्री, नुडल्सको विषयमा नभई जथाभाबी रूपमा शरीरमा दुष्प्रभाव पार्ने सम्भावना भएका जडीबुटी, गह्रौँ धातु, खनिज पदार्थहरू रहेका पेन्ट, श्रृगांरका सामग्री, नुडल्स बारेमा जारी गरिएको जानकारी गराउन चाहन्छौ ।’
मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीहरूको रगतमा सिसाको मात्रा अत्याधिक पाइएको उल्लेख थियो ।
आयुर्वेदिक औषधि सेवन गरेका बिरामीमा सिसाको अत्याधिक मात्रा (५ माइक्रोग्राम डेसिलेटर भन्दा बढी) पाइएको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै सिसाको विषाक्तताबाट जोगिन सबैलाई सचेत हुन अनुरोध गरिएको थियो ।
सम्बन्धित समाचार : आयुर्वेदिक औषधिमा सिसा भेटिएको भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध
मन्त्रालयले सोलोडोलोमा सबै आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीहरूको रगतमा सिसाको मात्रा अत्याधिक पाइएको भनेपछि त्यसको आलोचना भएको थियो । सबै आयुर्वेदिक औषधि भन्ने अर्थ लागेपछि मन्त्रालयले त्यसलाई सच्याएर राति नै अर्को विज्ञप्ति निकालेको थियो ।
सम्बन्धित समाचार : आयुर्वेदिक औषधिबारे स्वास्थ्य मन्त्रालयले सच्यायो आफ्नो भनाइ
सच्याएर जारी गरेको विज्ञप्तिमा केही भन्ने शब्द थपिएको थियो । केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीहरू उल्लेख गरिएको थियो । यसैगरी केही तथा दर्ता नगरिएका आयुर्वेदिक औषधि भन्ने विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
मन्त्रालयको विज्ञप्तिलाई लिएर आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, नेपाल आयुर्वेद चिकित्सक सङ्घ लगायतले आपत्ति जनाएका थिए । मन्त्रालयले कुन आयुर्वेदिक औषधिमा सिसा भेटाएको हो र कुन आयुर्वेदिक औषधि प्रयोग गर्ने बिरामीमा समस्या आएको हो भन्ने बारेमा स्पष्ट पार्नुपर्ने उनीहरूको भनाइ थियो ।
सम्बन्धित समाचार : ‘कुन आयुर्वेदिक औषधिमा सिसा भेटिएको हो मन्त्रालयले स्पष्ट पार्नुपर्छ, भ्रमित बनाउन पाइँदैन’
सङ्घले विज्ञप्ति नै निकालेर आधिकारिक निकायबाट आयुर्वेद औषधि एवं उपचार पद्धतिसम्बन्धी कुनै पनि विज्ञप्ति अथवा सूचना प्रकाशित गर्नु पूर्व अनिवार्य रूपमा सम्बन्धित निकाय, सङ्घ, संस्था, आयुर्वेद विज्ञको राय लिन सचेत गराएको थियो ।
सम्बन्धित समाचार : आयुर्वेदबारे सूचना प्रकाशित गर्नु पूर्व अनिवार्य सम्बन्धित निकायको राय लिनु : आयुर्वेद चिकित्सक सङ्घ
यो पछिल्लो घटनाले स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकारी सरोकारवाला निकायबीच समन्वयको अभाव देखिएको छ । यसैगरी औषधि जस्तो संवेदनशील विषयमा सरोकारवाल निकायसँग समन्वय नै नगरी मन्त्रालयले हचुवाको भरमा विज्ञप्ति जारी गर्दा पटक पटक स्पष्ट पार्नु परेको छ । मन्त्रालयले तेस्रो पटक विज्ञप्ति जारी गर्दा पनि कुन आयुर्वेदिक औषधिमा सिसा भेटिएको हो र कुन आयुर्वेदिक औषधि प्रयोग गर्ने बिरामीमा समस्या आएको हो स्पष्ट पारेको छैन ।