आयुर्वेदिक औषधिमा सिसा भेटिएको भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आयुर्वेदिक औषधिमा सिसा भेटिएको भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीहरूको रगतमा लेड (सिसा)को मात्रा अत्याधिक पाइएको जनाएको छ । आयुर्वेदिक औषधि सेवन गरेका बिरामीमा लेड (सिसा) अत्याधिक मात्रा (५ माइक्रोग्राम डेसिलेटर भन्दा बढी)मा पाइएको प्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।

साइड इफेक्ट कम हुने भन्दै बिरामीले प्रयोग गर्दै आइरहेको आयुर्वेदिक औषधिका बारेमा मन्त्रालयको उक्त भनाइले अन्यौलता सिर्जना गरेको छ । लेड (सिसा)को विषबाट बनावटका लागि अन्तर्राष्ट्रिय सचेतना सप्ताहका अवसरमा मन्त्रालयका तर्फबाट प्रवक्ता डा. प्रकाश बुढाथोकीले आइतबार जारी गरेको विज्ञप्तिमा आयुर्वेदिक औषधि सेवन गरेका बिरामीमा लेड (सिसा) अत्याधिक मात्रा (५ माइक्रोग्राम डेसिलेटर भन्दा बढी)मा पाइएको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा भएका अनुसन्धानहरूमा बालबालिका, प्रजनन समूहका वयस्क मानिसहरू, आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीहरू, सरसफाइकर्मीहरू एवं रंगरोगनमा सङ्लन पेन्टहरूको रगतमा लेड (सिसा) अत्याधीक मात्रा (५ माइक्रोग्राम डेसिलेटर भन्दा बढी) मा पाइएको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ । यसको सम्भाव्य श्रोतहरू रंगरोगन (पेन्ट्स), सौन्दर्यका प्रसाधनहरू (लिपस्टिक, काजल), रङ्गीचङ्गी खेलौनाहरू, खानेकुरा (नुडल्स), आयुर्वेदिक औषधि आदि भएको जानकारीमा आएको छ ।’

सरकार लेड (सिसा)को प्रयोगलाई निरुत्साहित गर्न प्रयत्नरत रहेको मन्त्रालयले जनाएको छ । लेड (सिसा)को विषाक्तताबाट जोगिन सबै सचेत हुन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयको यो विज्ञप्तिबारे धेरैतिर आलोचना भई रहेको छ । आयुर्वेदलाई बदनामित गराउने खेल भएको भन्दै चौतर्फी आलोचना भएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस