‘कुन आयुर्वेदिक औषधिमा सिसा भेटिएको हो मन्त्रालयले स्पष्ट पार्नुपर्छ, भ्रमित बनाउन पाइँदैन’ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

‘कुन आयुर्वेदिक औषधिमा सिसा भेटिएको हो मन्त्रालयले स्पष्ट पार्नुपर्छ, भ्रमित बनाउन पाइँदैन’


१४ कार्तिक २०८०, मंगलबार


काठमाडौँ । आयुर्वेदिक औषधिप्रति आम मानिसको विश्वास छ । र बजारमा यसको माग पनि छ । वर्षौँसम्म एलोपेथिक उपचारबाट निको नभएका बिरामीहरू आयुर्वेदिक औषधिको प्रयोगबाट निको भएका घटना पनि छन् । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिले उनीहरूले प्रयोग गर्ने औषधि र त्यसमाथिको भरोसाप्रति संशय उत्पन्न गराएको छ ।

आयुर्वेदिक औषधिको बारेमा मन्त्रालयले भ्रम फैलाउन खोजेको आरोप पनि लागेको छ । सदियौँदेखि प्रयोग हुँदै आएको आयुर्वेदिक औषधिबारे मन्त्रालयले सम्बन्धित निकायसँगको समन्वयबिनै भ्रमित पार्ने गरी विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिलाई लिएर आयुर्वेदिक औषधि सम्बद्ध निकायले असन्तुष्टि जनाएका छन् ।

मन्त्रालयका तर्फबाट प्रवक्ता डा. प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा आयुर्वेदिक औषधि प्रयोग गरेका बिरामीहरूको रगतमा लेड (सिसा)को अत्याधिक मात्रा (५ माइक्रो ग्राम डेसिलेटर भन्दा बढी) पाइएको उल्लेख थियो । विज्ञप्तिमा प्रयोग भएको शब्दलाई लिएर आलोचना भएपछि आइतबार नै सच्याएर अर्को विज्ञप्ति आयो । जसमा केही भन्ने शब्द थपियो । मन्त्रालयले केही तथा दर्ता नगरिएका आयुर्वेदिक औषधिमा लेड (सिसा)को मात्रा अत्याधिक रहेको भन्दै प्रयोगमा सचेत हुन अनुरोध समेत गरेको थियो ।

सम्बन्धित समाचार : आयुर्वेदिक औषधिमा सिसा भेटिएको भन्दै सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध

सम्बन्धित समाचार : आयुर्वेदिक औषधिबारे स्वास्थ्य मन्त्रालयले सच्यायो आफ्नो भनाइ 

मन्त्रालयले केही आयुर्वेदिक औषधिमा लेड (सिसा)को मात्रा अत्याधिक रहेको बताइरहँदा आयुर्वेदिक औषधिको क्षेत्रमा काम गर्ने अन्य सरकारी निकाय बेखबर छन् । मन्त्रालयको उक्त विज्ञप्तिलाई लिएर आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, नेपाल आयुर्वेद चिकित्सक सङ्घ लगायतले आपत्ति जनाएका छन् । 

मन्त्रालयले औषधि जस्तो विषयमा सरोकारवाल निकायसँग समन्वय नै नगरी हचुवाको भरमा विज्ञप्ति जारी गरेको विभाग र सङ्घका अधिकारीहरूको भनाइ छ । मन्त्रालयले कुन आयुर्वेदिक औषधिमा सिसा भेटाएको हो र कुन आयुर्वेदिक औषधि प्रयोग गर्ने बिरामीमा समस्या आएको हो भन्ने बारेमा स्पष्ट पार्नुपर्ने उनीहरूको भनाइ छ । 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले आयुर्वेदिक औषधिमा सिसा भेटियो भन्न नमिल्ने बताए । ‘सबै आयुर्वेदिक औषधिमा सिसा भेटियो भन्न मिल्दैन । आयुर्वेदमा सिसाबाटै पनि औषधि बनाउने कन्सेप्ट छ ।’ उनले भने, ‘कुनै औषधिमा नकारात्मक चिज भेटियो भने रिकल गरेर व्याक गर्ने प्रावधान छ । तर, मन्त्रालयले कुन औषधिमा सिसा पत्ता लगाएको हो, म यसबारेमा समन्वय गर्दै छु ।’ विज्ञप्तिमा उल्लेख भएको विषयमा मन्त्रालयमै गएर बुझ्ने उनको भनाइ छ । 

मन्त्रालयको विज्ञप्तिपछि आयुर्वेदिक औषधि प्रयोगकर्ताहरू सशङ्कित छन् । मन्त्रालयले कुन आयुर्वेदिक औषधिमा सिसा भेटाएको हो र कति मात्रामा भेटिएको हो भन्ने बारेमा स्पष्ट नर्पादा प्रयोग कर्ता सशङ्कित भएका हुन् । तर, आयुर्वेद चिकित्सकहरूले मन्त्रालयको विज्ञप्तिमा सत्यता नरहेको बताएका छन् । नेपाल आयुर्वेद चिकित्सक सङ्घका अध्यक्ष डा. श्यामबाबु यादवले मन्त्रालयको विज्ञप्तिमा सत्यता नभएको बताए । उनले भने, ‘केही आयुर्वेदिक औषधि भनेको कुन औषधि हो ? मन्त्रालयले प्रमाण दिनु प¥यो । कुन औषधिमा समस्या छ । स्पष्ट पार्नुपर्छ ।’

सरकारको अनुमति नलिई आयुर्वेदिक औषधि उत्पादन तथा  बिक्रीवितराण गर्न पाइँदैन । बजारमा आउने औषधिको गुणस्तर परीक्षण गर्नुपर्ने प्रावधान पनि छ । गुणस्तरीय औषधिहरू मात्र बिक्री वितरणका लागि स्वीकृति प्रदान गरिने औषधि व्यवस्था विभागले जनाएको छ । 

औषधिहरू बजारमा जानुभन्दा पहिले गुणस्तर परीक्षण गर्ने गरिएको विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए । उनले भने, ‘आयुर्वेदिक औषधिमा लेड (सिसा) हुन्छ । तर, औषधि बजारमा जानु भन्दा पहिले गुणस्तर परीक्षण हुन्छ । र मापदण्ड पुरा गरेका औषधि मात्र बजारमा जान्छ । परीक्षणका क्रममा मापदण्ड पुरा नभएका औषधिहरू बजारमा जाँदैनन् ।’

मन्त्रालयले कुन अनुसन्धानमा कुन औषधिमा कति मात्रामा सिसा भेटिएको हो ? कुन औषधि प्रयोग गर्न नमिल्ने हो ? स्पष्ट पार्नुपर्ने देखिन्छ । सोलोडोलोमा सबै आयुर्वेदिक औषधिमा सिसाको मात्रा बढी छ भनेर नागरिकलाई भ्रमित पार्ने काम वाञ्छनीय हुँदैन । त्यसो त पछिल्लो समय आयुर्वेदिक औषधि सरकारको प्राथमिकतामा परेको छैन । जसको उदाहरणमा नेपालको सबैभन्दा पुरानो आयुर्वेदिक औषधि उत्पादक सिंहदरबार वैद्यखानालाई लिन सकिन्छ । कुनै समय १५० प्रकारका औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखानाले अहिले सीमित औषधि उत्पादन गर्ने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस