प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति नबनाउन सुझाव  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति नबनाउन सुझाव 


१५ कार्तिक २०८०, बुधबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताएका छन् । 

आज (बुधवार) आफ्नो चार वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा उपकुलपति बाँस्कोटाले विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउनुपर्ने बताएका हुन् । 

उनले शैक्षिक व्यक्तित्वलाई खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयको कुलपति नियुक्त गर्नुपर्ने प्रस्तावसमेत गरे । उपकुलपति बाँस्कोटाले राजनीतिक पार्टीपिच्छे स्थापना भएको शिक्षक, कर्मचारी सङ्घ, सङ्गठनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने प्रथाको सदाका लागि अन्त्य गर्नुपर्ने बताए ।

उनले भने, ‘विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्री नै कुलपति हुने व्यवस्था हटाई विश्वविद्यालयमा स्थापित भइसकेको ट्रस्टको प्रावधानको व्यवस्था गरी विशेषज्ञता हासिल गरिसकेको शैक्षिक व्यक्तित्वलाई खुल्ला प्रतिस्पर्धाबाट कुलपति नियुक्त गर्ने प्रावधानको विकास गरिनुपर्दछ ।’

उपकुलपति बाँस्कोटाले उच्च शिक्षाका लागि बजेटमा उल्लेख्य वृद्धि गरी २० देखि २५ प्रतिशतसम्म पुर्‍याउनुपर्ने बताएका छन् । अहिले उच्च शिक्षाका लागि सरकारले १० प्रतिशतको हाराहारीमा बजेट विनियोजन गरेको छ । त्यसमा उल्लेख्य वृद्धि गरी विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाउन आवश्यक रहेको बाँस्कोटाको भनाइ थियो ।

उपकुलपति बाँस्कोटाले विश्वविद्यालयलाई कुनै पनि राजनीतिक सङ्गठनको आवरणमा बन्द गर्ने काम सधैँका लागि अन्त्य गर्नुपर्ने, जनसङ्ख्याको आधारमा विश्वविद्यालयको सङ्ख्या निर्धारण गर्न ढिलाइ गर्न नहुने, भएका विश्वविद्यालय आर्थिक सङ्कटमा गुज्रिरहेकाले थप विश्वविद्यालय खोल्दै जाने काम गर्न नहुने समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस