चित्रबहादुर केसीले उठाए समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि प्रश्न « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चित्रबहादुर केसीले उठाए समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि प्रश्न


१५ कार्तिक २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले समानुपातिक निर्वाचन प्रणालीबाट धनाढ्य र पहुँचवालाहरू सांसद निर्वाचित भएको भन्दै यसको औचित्यमाथि विचार गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै केसीले निर्वाचन प्रणाली खर्चिलो भएको बताए। उनले वर्तमान निर्वाचन प्रणालीबाट योग्य, क्षमतावान र राम्रो मान्छेले सपनामा पनि निर्वाचन जित्न नसक्ने बताए।

उनले समानुपातिक निर्वाचन प्रणाली दलित, जनजाति तथा विपन्न समुदायहरूका लागि राखिएको भए पनि धनाढ्य र पहुँचवालाहरू सांसद बन्ने गरेको उल्लेख गरे।

उनले शक्ति र सम्पत्ति भएकाहरू समानुपातिक निर्वाचन प्रणालीबाट दोहोरिएर सांसद हुने गरेका भन्दै यसको औचित्यमाथि प्रश्न उठाए।

उनले भने, ‘चुनाव यति खर्चिलो भयो कि अब योग्य, क्षमतावान, राम्रो मान्छेले चुनाव सपनामा पनि जित्न सक्दैन। बिपनाको कुरा छाडिदिउँ। यसमा राजनीतिक पार्टी नै जिम्मेवार छन्। आयोगले पनि राम्रोसँग चुनावको अनुगमन गरेको छैन। समानुपातिक निर्वाचन प्रणाली डरलाग्दो कुरा भयो।

समानुपातिक राखेको त दलितहरू, विपन्न समुदायहरू, जनजातिहरू, त्यस ठाउँका जसले सदनमा आउनै सक्दैनन् त्यस्तो मान्छेका लागि हामीले समानुपातिक राखेका हौँ। तर समानुपातिकमा त पार्टीभित्रका सबभन्दा धनाढ्यहरू, पहुँचवालाहरू आएपछि समानुपातिकको औचित्य के ? यसमा गम्भीर रूपले विचार गर्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस