एनआरएनए कार्यालय कब्जा गर्न खोज्ने आरकेमाथि कारबाही माग गर्दै बद्री केसीद्वारा जाहेरी दर्ता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एनआरएनए कार्यालय कब्जा गर्न खोज्ने आरकेमाथि कारबाही माग गर्दै बद्री केसीद्वारा जाहेरी दर्ता


१५ कार्तिक २०८०, बुधबार


काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का अन्तर्राष्ट्रिय समन्वय परिषद् अध्यक्ष डा. बद्री केसीले आफूसँग चुनावमा पराजित भएका आरके शर्मासहितलाई हदैसम्मको कारवाहीको माग गर्दै जाहेरी दर्ता गराएका छन् ।

प्रहरी वृत्त दरबारमार्गमा आज दर्ता भएको जाहेरीमा आफूसँग पराजित उपविजेता राजेन्द्र कुमार शर्मा, बुद्धिसागर सुवेदी, गंगाधर गौतम, ठाकुर प्रसाद ढुङ्गाना र ओम शर्मालगायतमाथि तीनवटा अलग अलग अभियोगमा कारवाहीको माग गरेका हुन् ।

पराजित भएपछि पनि केन्द्रीय कार्यालय कब्जा गर्ने उद्देश्यले माओवादीका प्रवास ब्युरो इन्चार्ज ओम शर्मासहित वाइसिएलको टोली लिएर गएका शर्माको समूहले कर्मचारीमाथि समेत आक्रमण गरेको केसी पक्षले जनाएको छ ।

दर्ता भएको जाहेरीमा जीउ ज्यान र सम्पत्तिको शान्ति सुरक्षा, हुलदङ्गा गर्ने व्यक्तिहरूमाथि अभद्र व्यवहारको कसूरमा कारबाही र वैयक्तिक गोपनीयता तथा प्रतिष्ठाविरुद्धको कसूरमा कारवाहीको माग गरिएको छ ।

जाहेरीमा सङ्घको कार्यालय र राष्ट्र बैकको समेत सिसिटिभी क्यामेराको फुटेज हेरेर कानूनी कारवाहीको माग गरिएको छ । उनीहरूबाट फेरि पनि कार्यालयमा तोडफोड र सम्पत्तिको हानीनोक्सानी गर्ने सम्भावना रहेकाले कारबाही माग गरिएको केसीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस