‘कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउनुस्, एक हजार थपेर सबै दिन्छु’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउनुस्, एक हजार थपेर सबै दिन्छु’


१३ कार्तिक २०८०, सोमबार


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा तीन हजार करोड लगानी गरेको पत्ता लगाउन चुनौती दिएका छन्।

‘कम्बोडियामा ३ हजार करोड मैले राखेको छु भने धेरै नाफा हुने विजनेस दिन्छु,’ एमाले गण्डकी प्रदेशले पोखरामा सोमबार गरेको कार्यक्रममा ओलीले भने, ‘देशको यत्रो पैसा लुकाएको रहेछु भने पत्ता लगाउनुस्, धेरै त छैन एक हजार रुपैयाँ थपेर सबै दिन्छु।’

आफू र एमालेलाई बदनाम बनाउन विदेशमा पैसा लगानी गरेको छ भन्नेजस्ता आरोप लगाइने गरिएको ओलीको भनाइ छ।

पहिले स्वीस बैंकमा र अहिले कम्बोडियामा पैसा राखेको भनेर हल्ला चलाइएको उनले बताए।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले केही दिनअघि ओलीले कम्बोडियाको टेलिकममा ३० अर्ब लगानी गरेको बताएका थिए।

उक्त विषयमा ओलीले जवाफ दिँदै प्रमाणित गर्न चुनौती दिएका छन्। यस्ता आरोप लगाउनेलाई ओलीले ‘भुस्याहा कुकुर’को संज्ञा दिए।

पेट र मुख छ भनेर जे पनि खान्छ भन्ने नभएको भन्दै उनले राज्यको ढुकुटीबाट एक पैसा पनि खल्तीमा हाल्छ भने त्यो अपराध भएको बताए।

‘राज्यको ढुकुटीबाट १ पैसा पनि आफ्नो खल्तीमा हाल्छ भने त्यो अपराध हो, एमाले यसको विरोधमा छ, कुनै कम्प्रमाइज गर्दैन,’ उनले भने।

आफू र श्रीमतीका नाममा भएका सबै सम्पत्ति दान गरिसकेको भन्दै ओलीले अर्काका लागि भ्रष्टाचार नगर्ने बताए।

अर्को प्रसङ्गमा ओलीले क्विन्टलका क्विन्टल सुन तस्करी ढाकछोप गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागिपरेको आरोप लगाए। क्विन्टलमा सुन बरामद गर्दा पछि ६० किलो भएको र भेपमा बरामद परेको साढे नौ किलो सुन २ किलोमा झरेको उनको दाबी थियो।

Tags :
प्रतिक्रिया दिनुहोस