पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’ कप हुने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’ कप हुने


४ कार्तिक २०८०, शनिबार


कास्की । गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ ।

नेपाल मोटर स्पोर्टस संस्था (नासा) सँग आबद्ध भिआर-४६ मोटर स्पोर्टस प्रालिले पोखरा रङ्गशालाभित्रको कालोपत्र सडकमा आगामी मङ्सिर ८ र ९ गते सो प्रतियोगिता आयोजना गरिने जनाएको छ ।

भिआर-४६ मोटर स्पोर्टसका प्रबन्ध निर्देशक माइकल थापाका अनुसार एक सयभन्दा बढी प्रतियोगीहरूको सहभागिता रहने यस प्रतियोगिताले पोखराको आन्तरिक र बाह्य पर्यटनका लागिसमेत महत्त्वपूर्ण रहेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः जनही नगद रु एक  लाख, रु ७५ हजार र रु ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । विजेता तिनै जना खेलाडीलाई अन्तर्राष्ट्रिय बाइक रेसमा सहभागिताको अवसर प्रदान गरिने आयोजकले जनाएको छ ।

नेपालमा बाइक संस्कृतिको इतिहास लामो भए पनि यसको खेलकुदको संस्कृति नयाँ भएको जनाउँदै धेरैको रुचिको विषयसमेत भएकाले प्रतियोगितालाई ठूलो आकारमा आयोजना गर्न लागिएको प्रबन्ध निर्देशक थापाले बताए । 

उनले भने, “नेपालको बाइक रेसको इतिहासमा नै बृहत् मोटरबाइक रेस नेपालकै ठूलो ट्र्याक पोखरा रङ्गशालामा आयोजना हुनेछ । यसले बाइक रेस के हो भन्ने चिनाउने सँगै युवा खेलाडीहरूलाई यसतर्फ आकर्षण गराउनसमेत प्रभावकारी हुने विश्वास लिएका छौँ ।”

गत वर्ष सानो आकारमा सम्पन्न गरिएको प्रतियोगिताले पनि आफूहरूलाई दोस्रो संस्करणको तयारी सँगै ठूलो आकार र धेरैको सहभागितामा प्रतियोगिता आयोजनाका लागि हौसला मिलेको थापाले बताए ।

प्रतियोगिता सम्पन्न गर्न रु ३५ लाख खर्च हुने जनाउँदै आयोजकले उक्त प्रतियोगिता अवलोकनका लागि टिकटको समेत व्यवस्था गर्न लागेको छ । साधारणतर्फ रु दुई सय र भिआइपीतर्फ रु एक हजारदेखि रु पाँच हजारसम्मको टिकट बिक्री गरिने आयोजकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस