बराहपोखरीबाट रु. एक करोड ७५ लाखको खसी बिक्री « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

बराहपोखरीबाट रु. एक करोड ७५ लाखको खसी बिक्री


४ कार्तिक २०८०, शनिबार


खोटाङ । दसैँ तिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु. एक करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ । 

खसीबाख्रा पालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले आठ सय ७५  खसी काठमाडौँ पुर्‍याएका छन् ।

एउटा खसीको सरदर मूल्य रु. २० हजार मान्दा रु. एक करोड ७५ लाखभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिएका छन् । खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका छवटै वडाका किसानको घर-घरमा पुगेका थिए । 

दसैँ तिहारका अवसरमा घरैमा खसी बिक्री हुँदा कतिपय एकैघरका किसानले रु. पाँच-छ लाखसम्म हात पारेका छन् । कतिपय किसानले एउटै खसी ८० केजी तौलसम्मका बिक्री गरेका छन् । किसानबाट खरिद गरिएको खसीलाई ठेकेदारले धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि आठ वटा ट्रक र दुई वटा बोलेरोमा हालेर अन्यत्र लगेका थिए । उनीहरूले खसीलाई धाप्लाङघाटसम्म हिँडाएर पुर्‍याएका थिए । 

कतिपय खसी यही कात्तिक १ गते बिहान र कतिपय खसी कात्तिक २ गते बिहान काठमाडौँ पुर्‍याएको पशु सेवा शाखा प्रमुख बञ्जराले जानकारी दिएका छन् । 

कतिपय किसानले आफै उदयपुरको गाईघाटमा लगेर खसी बिक्री गरिरहेका छन् ।

दश स्थानीय तह रहेको जिल्लाबाट यस वर्षको दसैँ तिहारका अवसरमा करोडौँ मूल्य बराबरको खसी निर्यात भएको बाख्रापालन व्यवसायी सङ्घ खोटाङले जनाएको छ । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय व्यावसायिक रूपमा बाख्रापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस