बडा दसैंको सातौं दिन आज फूलपाती भित्र्याइँदै « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बडा दसैंको सातौं दिन आज फूलपाती भित्र्याइँदै


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ । नवरात्रिको सातौँ दिन शनिवार(आज) फूलपाती भित्र्याइँदै छ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन रही आएको छ ।

आजैका दिन हनुमान ढोका दरबारको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारको दसैँ घरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरदेखि जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा छ ।

जमलबाट हनुमान ढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुको पल्टन, नेपाली सेनाको ब्यान्ड बाजा, पन्चै बाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती भित्र्याइन्छ ।

पृथ्वीनारायण शाहले काठमाडौँ राज्यमाथि विजय प्राप्त गरेदेखि नै यो परम्परा छ । यसै दिन रात्रिमा कालरात्रि देवीको पूजा गरिन्छ । यिनै देवीले रक्तबीज नामक दैत्यको संहार गरेको किंवदन्ती छ ।

Tags :
प्रतिक्रिया दिनुहोस