कोशी प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भयो : मुख्यमन्त्री कार्की « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कोशी प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भयो : मुख्यमन्त्री कार्की


१ कार्तिक २०८०, बुधबार


मोरङ । कोशी प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । प्रदेश सभा बैठकमा विश्वासको मतको प्रस्ताव राख्ने क्रममा उनले राजनीतिक परिस्थितिले आफू मुख्यमन्त्री बन्न पुगेको बताए ।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकारको मुख्यमन्त्रीका रूपमा प्रदेश सभामा विश्वासको मतका लागि बुधबार प्रस्ताव राख्दै कार्कीले सबै राजनीतिक दल मिलेर जानुपर्ने बताए ।

‘यो राजनीतिक परिस्थितिले अहिलेको जिम्मेवारी प्राप्त हुन गएको छ । यो जिम्मेवारी मात्रै नभई प्रदेशको समग्र विकास र आर्थिक रूपान्तरणको दायित्व पनि हो । त्यसका लागि प्रदेशमा स्थिर र गतिशील सरकारको खाँचो पूरा भएको छ,’उनले भने, ‘प्रदेश सभा विघटन र मध्यावधि निर्वाचनमा जानुहुने छैन भन्ने विश्वास प्रकट गर्दछु ।’

प्रदेशमा हुने कामका लागि सबै मिलेर अगाडि बढ्नुपर्ने र सुशासन तथा सङ्घीयताको औचित्य पुष्टि गर्न सबै एकजुट भएर जानुपर्ने उनको भनाइ थियो । प्रदेशलाई प्रभावकारी बनाउन कानुन निर्माणमा जुट्नुपर्ने उनले बताए ।

सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको आफ्नो नेतृत्वको सरकारलाई विश्वासको मत दिनका लागि उनले आह्वान गरे । त्यसका लागि सांसदहरू स्वतन्त्र रहेको पनि उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस