काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले तिनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गर्नुपर्ने अडान राखेको छ ।
संघीय निजामती सेवा विधेयक सरकारले स्वीकृत गरे पनि सार्वजनिक नगरेका बेला निजामतीले सोमबार पत्रकार सम्मेलन गर्दै सङ्घ, प्रदेश र स्थानीय गरेर तीन वटै तहका निजामती कर्मचारीको परिभाषामा समावेश गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो ।
संघीय निजामती सेवा विधेयक सम्बन्धी अवधारणा सार्वजनिक गर्दै सङ्गठनका अध्यक्ष अम्बादत्त भट्टले स्थानीय तहका कर्मचारीको अन्तर प्रदेश सरुवा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्ने बताए । उनले स्थानीय तहका कर्मचारीको प्रदेश अन्तरगतको आवधिक सरुवा पूर्वानुमानयोग्य एवं चक्रीय प्रणालीको आधारमा सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गर्नुपर्ने बताएका छन् ।