बिपीका पदाधिकारीहरूलाई बर्खास्त गर्न वा सामूहिक राजीनामा स्वीकृत गर्न आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बिपीका पदाधिकारीहरूलाई बर्खास्त गर्न वा सामूहिक राजीनामा स्वीकृत गर्न आग्रह


२८ आश्विन २०८०, आइतबार


काठमाडौँ । बढुवा प्रक्रिया सुचारु गर्न माग राख्दै आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक चिकित्सकहरूले पदाधिकारीहरूलाई बर्खास्त गर्न वा आफूहरूले दिएको सामूहिक राजीनामा स्वीकृत गर्न सरकारसँग आग्रह गरेका छन्।

आन्दोलनरत शिक्षक कल्याण समाजले आइतबार उपकुलपति कार्यालयअघि पत्रकार सम्मेलन गर्दै प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाउने पदाधिकारीहरूलाई बर्खास्त गर्न वा राजीनामा स्वीकृत गर्न माग गरेको हो। सम्पूर्ण शिक्षकहरूले असोज २६ गतेदेखि नै लागु हुने गरी सामूहिक राजिनामा दिइसकेको जानकारी दिँदै यो अवस्था सिर्जना हुनुको मुख्य जिम्मेवारी प्रतिष्ठानका पदाधिकारीहरू भएको समाजको दाबी छ । 

प्रतिष्ठानमा विगत ७ वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध हुँदा १७७ जना एसिस्टेन्ट प्रोफेसर, एडिस्नल प्रोफेसर र एशोसिएट प्रोफेसरहरूको वृत्ति विकास हुन सकेको छैन। कर्मचारीतर्फ पनि विगत १५ वर्षदेखि बढुवा रोकिएको छ। बढुवा नहुँदा निराश बनेका ५० जना दक्ष चिकित्सकहरूले प्रतिष्ठान छोडेर गएको समाजको भनाइ छ। निलम्बनमा परेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले सुरु गरेको बढुवा प्रक्रियालाई हाल कायममुकायम उपकुलपतिमा नियुक्त भएका प्रा।डा।प्रह्लाद कार्कीले रोकेपछि समस्या सुरु भएको थियो। पचास प्रतिशत अन्तर्वार्ता सकिएको अवस्थामा कार्कीले लोकसेवालाई राय माग्दै पत्राचार गरेपछि आयोगले नियमावली संशोधन गरेर मात्र बढुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। शिक्षकहरूले आन्दोलन गरेपछि एक महिनाभित्र बढुवा प्रक्रिया सुरु गर्ने सहमति पनि पालना नहुँदा पुनः शिक्षकहरू आन्दोलनमा छन्।

शिक्षकहरू काठमाडौँ पुगेर सहकुलपति एवं स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर माग पुरा नभए असोज २६ गतेदेखि लागु हुने गरिसामुहिक राजीनामा पनि बुझाएका थिए। 

उनीहरूले कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेर समस्या चाँडो समाधान गर्न आग्रह गरेका थिए। समस्या समाधानको आश्वासन पाएर शिक्षकहरू प्रतिष्ठान फर्किए पनि सामूहिक राजीनामा बुझाइसकेको कारण पठनपाठन र उपचार सेवामा संलग्न भएका छैनन्।

Tags :
प्रतिक्रिया दिनुहोस