व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक : गृहमन्त्री श्रेष्ठ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक : गृहमन्त्री श्रेष्ठ


२६ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताएका छन् । 

आज शुक्रवार दोस्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा गृहमन्त्री श्रेष्ठले व्यापार घाटा कम गर्नका निम्ति देशको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताएका हुन् । 

उनले देशमा उत्पादन भएका वस्तुहरू निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गरे । आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्न सके मात्रै व्यापार घाटा कम हुने भन्दै उहाँले तत्काल ठुला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताए । 

उनले भने, ‘व्यापार घाटालाई कमी गर्नका निम्ति देशको उत्पादनलाई निर्यात गर्न सक्नुपर्छ । देशको उत्पादन निर्यात नगरेर कसैलाई अनुरोध र निवेदन गरिदिएर व्यापार घाटा कम हुँदैन । देशको व्यापार घाटा कम गर्नलाई आयात प्रतिस्थापन गरी निर्यात प्रवर्धन गर्न सक्नुपर्छ । तत्काल ठुला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुनेवाला छैन । अहिले हामीसँग जे छ, त्यो निर्यात गर्न सक्नुपर्छ ।’

गृहमन्त्री श्रेष्ठले विकासका निम्ति पुँजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निमार्ण, पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न आवश्यक रहेको उल्लेख गरे । उनले ह्यान्डीक्याप र सर्भिस सेक्टरबाट पनि नेपालले व्यापार घाटा कम सक्ने बताए ।

गृहमन्त्रीले सरकारको कर्तव्य देशमा उत्पादन बढाएर रोजगारी सिर्जना गरी उत्पादित वस्तु निर्यात गर्न सहयोगी भूमिका खेल्नु भएको बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस