काठमाडौँ महानगरले २ अर्ब १५ करोड रुपैयाँ खर्चेर पैदलमार्ग मर्मत गर्दै  « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरले २ अर्ब १५ करोड रुपैयाँ खर्चेर पैदलमार्ग मर्मत गर्दै 


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा दुई अर्ब १५ करोड रुपैयाँको लागतमा पैदलमार्गको मर्मत तथा सुधार गर्ने भएको छ । यसका लागि सबैजसो सडक खण्डको लागत अनुमान तयार भइसकेको र केही क्षेत्रमा सम्झौता भई काम शुरु पनि भइसकेको महानगरका सार्वजनिक निर्माण विभागले जनाएको छ । 

अहिले महानगर क्षेत्रभित्र झन्डै एक हजार तीन सय किलोमिटर सडक सञ्जाल छ । यसमध्ये आठ मिटरभन्दा कम चौडाइ भएका एक हजार किलोमिटर सडक महानगरको स्वामित्वमा छ ।

महानगरका अनुसार अहिले वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर १६ सोह्रखुट्टे हुँदै बालाजुसम्मको सडक किनारा दुवैतर्फ चार करोड ५५ लाख रुपैयाँमा काम भइरहेको छ । वडा नम्बर २६ लैनचौरबाट वडा नम्बर २ को लाजिम्पाट, वडा नम्बर ३ को महाराजगन्ज हुँदै चक्रपथसम्मको खण्डका लागि १० करोड रुपैयाँमा सम्झौता भइसकेको छ ।

साथै वडा नम्बर २८ को प्रदर्शनीमार्गमा काम शुरु भइसकेको छ । यसको लागत तीन करोड ७८ लाख रुपैयाँ रहेको छ । वडा नम्बर ११ को त्रिपुरेश्वरदेखि वडा नम्बर २२ सुन्धारा, वडा नम्बर २७ र २८ को सिमाना महाबौद्ध, रत्नपार्क, जमल हुँदै वडा नम्बर २६ को लैनचौरसम्मको सडक खण्डका लागि निर्माण पक्षसँग १८ करोड रुपैयाँमा सम्झौता भइसकेको विभागले जनाएको छ । 

महानगरको वडा नम्बर ४ को बालुवाटार सडक खण्डमा निर्माणका लागि छ करोड ३५ लाख रुपैयाँमा सम्झौता भएको छ । वडा नम्बर ३२ को तीनकुनेदेखि वडा नम्बर ९ सिनामङ्गल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार, सञ्चारग्राम, तिलगङ्गा हुँदै वडा नम्बर ८ को गौशालासम्मका लागि छ करोड ६९ लाख रुपैयाँमा सम्झौता भएको छ । त्यसैगरी वडा नम्बर १० नयाँ बानेश्वरदेखि वडा नम्बर ९ पुरानो बानेश्वरसम्मका लागि तीन करोड २३ लाख रुपैयाँ बजे विनियोजन गरिएको छ ।

वडा नम्बर २८ को बागबजारदेखि वडा नम्बर २९ चारखाल, वडा नम्बर ३० को सिमाना डिल्लीबजार पिपलबोट, मैतीदेवी चोक, सेतो पुल, वडा नम्बर ९ को पुरानो बानेश्वर, वडा नम्बर ३१ को भीमसेनगोला हुँदै वडा नम्बर ९ को सिनामङ्गल सडक खण्डका लागि १० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

साथै वडा नम्बर १३ को कालीमाटीदेखि सोल्टीमोड हुँदै वडा नम्बर १४ को कलङ्कीसम्म, वडा नम्बर ८ को गौशालादेखि वडा नम्बर ७ को चाबहिलसम्म, वडा नम्बर ८ गौशालादेखि वडा नम्बर ९ रातो पुलसम्मको सडक खण्डलाई १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

अन्य केही सडकका पनि कतै सम्झौता अन्तिम चरणमा पुगेको छ भने कतै काम शुरु भइसकेको विभागले जानकारी दिएको छ । चालु आवमा महानगरले पूर्वाधार निर्माण तथा सुधारका लागि सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस