तीन खेलाडीले शतक बनाएपछि श्रीलङ्काविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तीन खेलाडीले शतक बनाएपछि श्रीलङ्काविरुद्ध दक्षिण अफ्रिकाको फराकिलो जित


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप दक्षिण अफ्रिकाले श्रीलङ्काविरुद्ध १०२ रनको फराकिलो जित निकालेको छ।

शनिबार भारतको अरुण जेट्ली रङ्गशालामा तीन ब्याटरले शतक बनाएपछि टस हारेर ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ४२८ रनको कीर्तिमानी योगफल खडा गरेको थियो। 

एकदिवसीय विश्वकपको इतिहासमा कुनै पनि टिमले बनाएको यो नै अहिलेसम्मको उच्च योगफल हो। यसअघि, अष्ट्रेलियाले सन् २०१५ मा अफगानिस्तानविरुद्ध ४१७ रनको उच्च योगफल बनाएको थियो।

४२९ को विशाल लक्ष्यसहित मैदानमा उत्रिएको श्रीलङ्काले ४४ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ३२६ रन मात्र बनाउन सक्यो।

श्रीलङ्काका चरिथ असलंकाले ७९ रन बनाए। कुशल मेन्डिसले ७६ रन जोड्दा कप्तान दासुन सनाकाले पनि ६८ रन थपेका थिए। कासुन रजिथाले ३३, सदीरा समराविक्रमाले २३ र धनञ्जय डी सिल्भाले ११ रनको योगदान गरे।

दक्षिण अफ्रिकाका गेराल्ड कोएट्जीले तीन विकेट लिए। मार्को जान्सेन, कागिसो रबाडा र केशब महारेजले समान दुई विकेट लिए।

त्यसअघि, दक्षिण अफ्रिकाका रसे भान डेर डुसेनले १०८ रन बनाएका थिए। आइदेन मार्करमले १०६ रन बनाए।

ओपनर क्विन्टन डी ककले पनि शतक बनाए। उनले ८४ बलमा १०० रन जोडे । एकदिवसीय विश्वकपको इतिहासमा एकै टिमका तीन ब्याटरले शतक बनाएको पनि यो पहिलोपटक हो।

यस्तै, डेविड मिलरले ३९, हेनरिक क्लासेनले ३२ र मार्को जान्सेनले १२ रन बनाए । कप्तान टेम्बा बवुमा भने आठ रनमै आउट भएका थिए।

श्रीलङ्काका दिल्सान मदुसंकाले दुई विकेट लिए। कासुन रजिथा, मथिसा पथिराना र दुनिथ वेलालागेले समान एक विकेट लिए।

जितसँगै पहिलो खेलबाट दुई अङ्क जोडेको दक्षिण अफ्रिका तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। प्रतियोगिता अन्तरगत आज भारत र अष्ट्रेलियाबीच खेल हुनेछ। चेन्नाइमा खेल दिउँसो सवा २ बजे सुरु हुनेछ। 

Tags :
प्रतिक्रिया दिनुहोस