राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप भए मात्रै लोकतन्त्र बलियो हुन्छ : प्रधानमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप भए मात्रै लोकतन्त्र बलियो हुन्छ : प्रधानमन्त्री


२० आश्विन २०८०, शनिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताएका छन् ।

नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता ढुङ्गानाद्वारा लिखित पुस्तक ‘स्थानीय सरकार अपेक्षा र अवस्था’ को आज लोकार्पण गर्दै उनले सरकार र राज्यमाथि जनताको प्रत्यक्ष निगरानी जरुरी रहेको बताए ।

प्रधानमन्त्री दाहालले भने, “यो पुस्तक स्थानीय सरकारका भोगाइ र अनुभवसहितको सैद्धान्तिक र व्यावहारिक कृति हो । यस्तो महत्त्वपूर्ण कृतिका लागि लेखकलाई बधाई व्यक्त गर्दछु ।”

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी राष्ट्रिय कार्यभार हो । यति बेला हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कानुनहरू निर्माण गर्ने चरणमा छौँ । यस सन्दर्भमा हामी सबैले गम्भीररूपमा चिन्तन गर्न जरुरी छ”, प्रधानमन्त्रीले भन्नुभयो- “सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने बेला बेलामा प्रयत्न हुने गरेको छ, यस्तो बेला स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरुरी छ ।”

राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावकारी हुन्छ राज्यलाई त्यति नै लोकतान्त्रिक बनाउने उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले एकथरी व्यक्ति ऐन बनाउने र यो परिवर्तनको परिणाम सकारात्मकरुपमा जनतालाई दिने काममा लागे पनि केही भने कुनै काम नहोस् भन्ने मानसिकतामा रहेको बताए ।

प्रधानमन्त्री दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेका ऐन, कानुन लागू राम्रोसँग नगरिदिने र यो व्यवस्था नै ठिक छैन भनेर फेरि पुरानै सामन्ती निरङ्कुशता फर्काउन चाहने कसरत विभिन्न कोणबाट देखापरेको उल्लेख गरे ।

“यस्तो बेलामा स्थानीय सरकारको महत्त्व के हो रु त्यसको आवश्यकता किन हो रु भन्नेबारे स्थानीय जनप्रतिनिधि जसले आफैँले अनुभव गरे उनीहरूले जनतालाई अझै प्रशिक्षित गर्नुपर्ने आवश्यकता पहिलेभन्दा बढेको छ । हाम्रो अवस्था पनि फेरियो र दैनिक जीवनमा सकारात्मक परिवर्तन भएको छ भन्ने अनुभूत नभएसम्म यसलाई सिद्धान्तले मात्र पुष्टि गरेर हुन्न”, प्रधानमन्त्री दाहालले भने ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले स्थानीय सरकारको काम कारबाहीका बारेमा बुझ्न पुस्तक सहयोगी हुने बताए । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल र राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले जनताको घर आँगनको सरकारका रूपमा रहेको स्थानीय निकायलाई के कसरी सबल र सक्षम बनाउन सकिन्छ भन्नेबारेमा सरोकार भएका सबैको उत्तिकै साथ र सहयोग जरुरी रहेको बताए ।

स्थानीय सरकारले के कसरी काम गर्न सक्छ र जनताका लागि त्यो केकति महत्त्वपूर्ण हुन्छ भन्ने विषयलाई समेटेर, आफ्नो अनुभवसमेत त्यसमा उल्लेख गरिएको ढुङ्गानाको उक्त पुस्तक खोजी प्रकाशनले प्रकाशन गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस