चिकित्सकको सुरक्षा, हित र वृत्तिविकासमा सरकार गम्भीर : प्रधानमन्त्री « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चिकित्सकको सुरक्षा, हित र वृत्तिविकासमा सरकार गम्भीर : प्रधानमन्त्री


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उनले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको बताएका हुन्।

“यसबारे सरकारले स्वास्थ्यकर्मीसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र सोअनुरूपको गृहकार्य गरिसकेको छ”, उनले भने, “स्वास्थ्यजस्तो अतिसंवेदनशील क्षेत्रमा हुने कुनै पनि प्रकारका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकार दृढ छ।”

प्रधानमन्त्री दाहालले पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन चिकित्सकलाई आह्वान गरे। उनले नेपाल सरकार स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्न, उत्पादित जनशक्तिको रोजगारीको सुनिश्चितता, पेसागत हित र आधारभूत स्वास्थ्य सेवाको नागरिक हकप्रति प्रतिबद्ध रहेको स्पष्ट पारे।

Tags :
प्रतिक्रिया दिनुहोस