काठमाडौँ । पूर्व-पश्चिम महेन्द्र लोकमार्गको विकल्पको रूपमा निर्माणाधीन मदन भण्डारी लोकमार्गमा टाईमकार्ड सुरु भएको छ। बढ्दो दुर्घटना न्यूनीकरण गर्न तथा नजिकिँदै गरेको चाड पर्वका बेला सवारी चाप सहज बनाउन जिल्ला ट्राफिक प्रहरी उदयपुरले टाईम कार्ड लागू गरेको हो।
पछिल्लो समय अत्याधिक दुर्घटना हुन थालेकाले न्यूनीकरण गर्दै नजिकिएको दसै, तिहार र छठको समयमा अत्याधिक गाडीको चाप सहज बनाउन सवारी आवागमनको समय तालिका सार्वजनिक गर्दै टाईम कार्ड लागू गरेको ट्राफिक प्रहरीले जनाएको छ।
केही समययता दैनिकजसो दुर्घटना हुँदा जनधनको क्षति हुने गरेको र दुर्घटनाको मुख्य कारण तिव्र गति र चालकको लापरबाही देखिएकाले न्यूनीकरण गर्न लोकमार्गको उदयपुर खण्डमा मङ्गलवारदेखि टाईम कार्ड लागू गरिएको ट्राफिक उदयपुरका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक (असई) लोकबहादुर दियालीले जानकारी दिएका छन्।