पहिलो पटक गोरखामा आमाको नामबाट नागरिकता वितरण सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पहिलो पटक गोरखामा आमाको नामबाट नागरिकता वितरण सुरु


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट नागरिकताको प्रमाणपत्र दिन सुरु गरेको छ । मंगलबार (आज)देखि आमाको नामबाट नागरिकता वितरण कार्यको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।

प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार आज भीमसेन थापा गाउँपालिका-१ का मञ्जित बानियाँलाई पहिलो पटक आमाको नामबाट नागरिकता दिइएको छ । 

आवश्यक प्रक्रिया र कागजात पुगेकाहरूले अबका दिनबाट प्रशासनमा आएर आमाको नामबाट नागरिकता बनाउन सक्ने प्रजिअ भुसालको भनाई छ । बाबुको पहिचान नखुलेकाहरूले मात्र आमाको नामबाट नागरिकता पाउन सक्ने उनले बताए ।

नागरिकता लिनका लागि जन्मदर्ता, शैक्षिक प्रमाणपत्र, आमाको नागरिकता, बुबा नभएको भनी सम्बन्धित स्थानीयबाट गरिएको मुचुल्का र अनुसूची फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै पतिको पहिचान नभएको भनी आमाले लिखित रूपमा स्वघोषणा समेत गरेको हुनुपर्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस