यी तीन वैज्ञानिकले पाए भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यी तीन वैज्ञानिकले पाए भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । सूक्ष्म समय पत्ता लगाउने प्रकाशसम्बन्धी प्रायोगिक विधिका लागि तीन जना वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको छ ।

मंगलबार रोयल स्विडिस एकेडेमी अफ साइन्सले अमेरिकी वैज्ञानिक पिएरे अगस्टिनी, जर्मन वैज्ञानिक फेरेन्ट्स क्राउस र स्विडिस वैज्ञानिक एन लुहुलिएलाई यस वर्ष भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

नोबेल पुरस्कार कमिटीका अनुसार पदार्थमा इलेक्ट्रोनको गतिशीलताको अध्ययनका निम्ति प्रकाशको ‘एटोसेकन्ड पल्स’ उत्पन्न गर्ने प्रायोगिक प्रक्रिया पत्ता लगाएबापत उनीहरूलाई पुरस्कार विजेता घोषणा गरिएको हो । अटोफिजिक्स (प्रकाश-लेजर पल्स र पदार्थको छोटो समयः १-१०००,०००,०००,०००,०००,००० सेकेन्डको अन्तरक्रियाको अध्ययन) मा योगदान गर्नेलाई एकेडेमीले पुरस्कार दिन लागेको हो । १ एटोसेकेन्ड भनेको एक सेकन्डको १०००,०००,०००,०००,०००,००० औँ भाग भाग हो। भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार विजेतालाई मेडल र संयुक्त रूपमा १ करोड १० लाख स्विडिस क्रोनर दिइनेछ ।

गत वर्ष ‘क्वान्टम मेकानिक्स’बारे अनुसन्धान गर्ने ३ जना वैज्ञानिकलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिइएको थियो । गत वर्ष वैज्ञानिकहरू अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिंगरले संयुक्त रूपमा पुरस्कार पाएका हुन् । भौतिकशास्त्रतर्फ पहिलो नोबेल पुरस्कार भने सन् १९०१ मा जर्मन भौतिकशास्त्री विल्हेम रोन्टजेनलाई दिइएको थियो । उनले सन् १८९५ मा एक्स-रे पत्ता लगाएका थिए । उनको सम्मानमा परमाणु संख्या १११ भएको तत्वको नाम रेन्टगेनियमसमेत राखिएको छ ।

यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार भने कोरोना भाइरसविरुद्ध एमआरएनए खोप विकासमा काम गर्ने अमेरिकी वैज्ञानिकद्वय क्याटलिन कारिको र ड्र वाइसमानलाई सोमबार दिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस