संविधानले सबैलाई समेटेको छ : डा. रामवरण यादव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संविधानले सबैलाई समेटेको छ : डा. रामवरण यादव


१५ आश्विन २०८०, सोमबार


नवलपरासी । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताएका छन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा विपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा आज पूर्व राष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरे । 

एक सय १०औँ विपी जयन्तीका अवसरमा बिपी कोइरालाको अर्धकदको सालिक अनावरणका लागि त्यहाँ पुगेका उनले सबैका हक र अधिकार स्थापित गरेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताए । उनले विपीको राष्ट्रवादलाई सबैले अङ्गाल्नुपर्नेमा जोड दिए ।

नेपालका प्रथम राष्ट्रपति डा. यादवले अहिले नेपालीहरू परजीवी बन्दै गएको बताए । “हामीले पहिले भारतलगायत अन्य मुलुकमा कृषिजन्य उत्पादन निर्यात गर्थ्यौ, तर त्यही तिनै वस्तुमा भारतलगायतका देशमा परनिर्भर हुनुपरेको छ । यो दुःखद् अवस्था हो”, उनले भने ।

अहिले तराई क्षेत्रमा भइरहेको चुरे दोहनका विषयमा पूर्व राष्ट्रपति डा. यादवले चिन्ता व्यक्त गर्दै चुरेको संरक्षण गर्न नसक्दा तराई मरुभूमि जस्तै बन्न थालेको उल्लेख गरे । प्राकृतिक स्रोतहरूको चरम दोहनले भोलिका दिनमा मानव सङ्कट पर्ने बताउँदै उनले प्राकृतिक सम्पदाको दोहन रोक्नुपर्नेमा जोड दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस