सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोप लागेका एसएसपीले दिए राजीनामा


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । सहकर्मी महिला प्रहरीलाई कार्यालयभित्रै यौन दुर्व्यवहार गरेको आरोपमा कारबाही सिफारिस भएका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले राजीनामा दिएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा उनले १९ जेठमा दुर्व्यवहार गरेको भन्दै एक जना महिला सहायक हवल्दारले उजुरी दिएकी थिइन् । त्यस क्रममा छानबिनका लागि प्रहरी नायब महानिरीक्षक (डिआइजी) सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनेको थियो ।

समितिले उनलाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरे लगत्तै पालको राजीनामा आएको हो । पाललाई यसअघि नै गृह मन्त्रालयले निलम्बन गरेको थियो ।

बिदामा जान लागेकी महिला कर्मचारीलाई दुर्व्यवहार गरिएको प्रकरणमा प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समितिले दोषी ठहर गरे पनि फौजदारी कसूरमा भने पालविरुद्ध अनुसन्धान भएको छैन ।

छानबिन समितिका एक सदस्यका अनुसार, एसएसपी पालले बिदामा जान लागेकी कर्मचारीलाई ‘तिमी मलाई मन पर्‍यो, आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै आफूसँग बस्न भनेका थिए । छानबिनका क्रममा उनले अरु महिला कर्मचारीलाई समेत दुर्व्यवहार गर्ने गरेको भेटिएको अधिकृतहरू बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस