काठमाडौँ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले सबै कार्यकर्तालाई अधिवेशनको तयारीमा खटिन आग्रह गरेका छन् ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रचार तथा प्रकाशन विभागको बैठकलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले अधिवेशन केन्द्रित हुन आग्रह गरेका हुन् ।
‘प्रदेश अधिवेशन नजिकै आइरहेको छ । पालिकामा प्रतिनिधि छनौटदेखि प्राविधिक कुराहरूमा सबै नेता, कार्यकर्ताहरू खटिएर लाग्न आग्रह गर्दछु’, उनले भने । उनले अहिले प्रतिक्रियावादी शक्तिले नेकपा एमालेका नेताहरूको नाम जोडेर सामाजिक सञ्जालमा दुष्प्रचार गरिरहेकाले प्रचार तथा प्रकाशन विभागले त्यस्ता गतिविधि गर्नेहरूको पहिचान गर्नुपर्ने बताए ।
कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले अबको नेतृत्व पार्टीको छवि अझ उचाइमा पुर्याउने गरी आउने विश्वास व्यक्त गरे । बैठक भर्चुअल माध्यमबाट गरिएको थियो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेशका प्रचार तथा प्रकाशन विभाग इन्चार्ज कमला बोहराले सबै जिल्लामा प्रचार तथा प्रकाशन विभाग सशक्त हुनुपर्नेमा जोड दिइन् ।
नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको अधिवेशन असोज २१ र २२ गते तय भएको छ ।