एडीडाज ब्रान्डका सामान आयातकर्ता रुट्स फेसनविरुद्ध राजस्व छलीमा मुद्दा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एडीडाज ब्रान्डका सामान आयातकर्ता रुट्स फेसनविरुद्ध राजस्व छलीमा मुद्दा


७ आश्विन २०८०, आइतबार


काठमाडौँ । राजस्व चुहावटको अभियोगमा रुट्स फेसन प्रा.लि.विरुद्ध ४ करोड ३७ लाख माग दाबीसहित उच्च अदालत पाटनमा आइतबार मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले रुट्स फेसनले आयात गरेर वीरगन्ज भन्सारबाट भित्र्याएको जुत्ता, तयारी पोसाक लगायतका सामानको न्यून मूल्याङ्कन गरेर राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।

राजस्व चुहावट तथा नियन्त्रण ऐन २०५२ अनुसार रुट्सका सञ्चालकहरू सञ्जीव तुलाधर, देवेन्द्रप्रसाद श्रेष्ठ, सुनिल महर्जन र प्रकाश रत्न कंशाकारसमेतलाई विपक्षी बनाइ मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी तथा अनुसन्धान अधिकृत नवराज अधिकारीले जनाएका छन् ।

सामान आयात गर्दा सरकारलाई नियमअनुसार भन्सार महसुल, मूल्य अभिवृद्धि कर(भ्याट) नबुझाएकोले आयातित सामानको बिगो २ करोड १८ लाख ५२ हजार ७ सय ७० कायम गरी सोही रकमको शतप्रतिशत जरिवानासमेत ४ करोड ३७ लाखको माग दाबीसहित विभागले मुद्दा दायर गरेको अनुसन्धान अधिकृत समेत रहेका अधिकारीले प्रशासनसँग बताए । 

एडीडाज ब्रान्डको जुत्ता, जर्सी, कट्टुलगायतका माल वस्तु आयात गर्दा भन्सार मूल्याङ्कन न्यून गरेर राजस्व चुहावट गरेको दाबी विभागको छ ।

लामो अनुसन्धान पछि दायर गरिएको मुद्धाअनुशार ब्रान्डकै आवरणमा थोरै राजश्व तिरेर बढी सामान आयात हुँदै आएकोसमेत खुलेको छ । जसमा भन्सार विभागकोसमेत मिलेमतो हुने गरेको भन्सार स्रोत बताउँछ । एडिडासको हकमा आफैले बनाएको मूल्य सूची भन्दा कममा भित्रिन दिनुले पनि विभागले सानालाई कस्ने र ठुलालाई पोस्ने गरेको प्रष्ट हुन्छ । जुत्ताका लागि भन्सारले न्यूनतम ४५ डलर तोकेको छ तर एडिडासको हकमा त्यो भन्दा निकै कम रकममासमेत जुत्ता छोडेको भेटिएको अधिकारीहरूले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस