साम्प्रदायिक घटनाबारे सरकार गम्भीर छ, प्रशासनिक रूपमा निर्णय लिन्छौँ : गृहमन्त्री « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

साम्प्रदायिक घटनाबारे सरकार गम्भीर छ, प्रशासनिक रूपमा निर्णय लिन्छौँ : गृहमन्त्री


७ आश्विन २०८०, आइतबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेश प्रदेशमा भइरहेका साम्प्रदायिक घटनाबारे नयाँ ढङ्गले निर्णय लिनका लागि सरकारले तयारी गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा गृहमन्त्री श्रेष्ठले सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको तर अवस्था बिग्रिँदै गएकाले सरकारले नयाँ ढङ्गले निर्णय लिन लागेको बताएका हुन् ।

सर्लाही, पर्सा लगायतका जिल्लामा पछिल्लो दिनमा भइरहेका साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र त्यहाँ चिन्ताजनक घटना भइरहेको गृहमन्त्रीको भनाइ थियो ।

आइतबार बिहान सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको सहभागितामा बैठक बसेको र त्यसमाथि सरकारले गम्भीरतापूर्वक लिइरहेको गृहमन्त्रीको भनाइ थियो । ‘प्रशासनिक रूपमा निर्णय गर्न पनि गम्भीर छौँ । यी घटनाबारे गम्भीर छौँ, दृढ भएर जान्छौँ, ’उनले भने ।

सुरुमा प्रशासनिक निर्णय गर्दा समस्या हुन्छ कि भनेर कुरेको तर अब भने प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको उनको भनाइ थियो ।

नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भएको तर त्यसमा आँच पुर्‍याउने र खलल पार्ने कार्य भइरहेको भन्दै त्यसप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

कोसी प्रदेशमा पनि सुरक्षा संवेदनशीलता रहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । उनले सुरक्षा संवेदनशीलता बुझ्नका लागि आइतबार कोशी प्रदेश जान लागेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस