पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध


७ आश्विन २०८०, आइतबार


बागलुङ । दुई दिनदेखिको निरन्तर वर्षाका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । निसीखोला गाउँपालिका–४, कानाबगरस्थित कालापैरा खोलामा आएको बाढीले बागलुङ–बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

सडक शनिबार दिउँसोदेखि अवरुद्ध भएपछि पूर्वी रुकुमदेखि काठमाडौं, पोखरा, बागलुङलगायत स्थानमा छुटेका मालवाहक तथा सवारीसाधन ठप्प भएका छन् । लोकमार्ग ठप्प हुँदा सयौँ यात्रु सडकमै अलपत्र परेका छन् ।

रातभर भारी वर्षा भएको र अहिले केही कम भएकाले खुलाउने प्रयास भएको निसीखोला गाउँपालिका–४ का अध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए । बाढीले करिब २०० मिटर कालोपत्र सडकमा क्षति पुर्‍याएको अध्यक्ष पौडेलको भनाइ छ ।

बुर्तिबाङ, बागलुङ, पोखरा, काठमाडौं र बुटवलदेखि निसी, भल्कोट हुँदै रुकुम जाने यात्रु कानाबगरमा रोकिएको उनले बताए ।

“यो ठाउँमा पानी पर्‍यो भने माथिबाट लेदोसहितको ठूलो बाढी, बाढीले एकैछिनमा सबै सडक पुरिदिन्छन् । सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र पर्दै आएका छन् । बर्खा लागेपछि अहिलेसम्म धेरैपटक यहाँ बाढी आएर सडक अवरुद्ध बन्यो । जतिपटक बाढीले सडक अवरुद्ध बनाउँछ, त्यतिपटक लोकमार्गसँग सहकार्य गरेर खुलाएका छौँ,” अध्यक्ष पौडेलले भने, “अब केही छिनमा सडक खुल्नेछ । आज पनि वर्षा होलाजस्तो छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस