विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह


४ आश्विन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

आफ्ना मागहरू सम्बोधन गराउन विद्यालय नै अनिश्चित कालीन रूपमा बन्द गरी पठनपाठनमा अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लङ्घन भएको आयोगले बताएको छ ।

आयोगले आज बिहीबार विज्ञप्ति निकालेर यस्तो खालको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पर्न पुगेको बताएको छ ।

विद्यालयका शिक्षक शिक्षिकाहरूले आफ्नो वृत्ति विकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै हुने भए पनि आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारप्रति सचेत हुन अयोगले भनेको छ ।

‘आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारप्रति सचेत हुन, मानव अधिकारको मूल्य र मान्यताको सम्मान गर्दै आफ्ना मागहरू राख्न, आफ्ना मागहरू पूरा गराउन विद्यालय बन्दबाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुन सक्ने तर्फ सचेत हुन आयोग आन्दोलनरत पक्षलाई आग्रह गर्दछ,’ आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा लेखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस