साढे १७ करोड बढी अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा कार्यकारी अधिकृत दोषी ठहर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

साढे १७ करोड बढी अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा कार्यकारी अधिकृत दोषी ठहर


२ आश्विन २०८०, मंगलबार


काठमाडौँ । साढे १७ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार उक्त फैसला गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७७ जेठ ७ गते ऋषिराम र सम्पत्ति जफत प्रयोजनका लागि उनकी श्रीमती र दुई छोरालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरेको थियो ।

अर्यालले १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेको थियो । ऋषिरामले २०३९ साल साउन १ गते राजपत्र अनङ्कित द्वितीय श्रेणीअन्तर्गत गाविस सचिवमा स्थायी नियुक्ति पाएर सरकारी सेवा सुरु गरेका थिए । उनी पछि नासु हुँदै शाखा अधिकृतमा बढुवा भएका थिए । उनले अधिकांश जग्गाहरू गाविस र नगरपालिकाअन्तर्गतका कार्यालयमा काम गर्दा जोडेको अख्तियारको दाबी थियो ।

यस्तो थियो आयोगको भनाई :

गा.वि.स. सचिवमा सेवा प्रवेश गरी शाखा अधिकृतको पदबाट अवकाश प्राप्त ऋषिराम अर्यालले रु. १७,८३,४१,५७९।-बराबरको गैर कानुनी सम्पत्ति आर्जन गरेको सम्बन्धी आरोप-पत्र दायर।

प्रेस विज्ञप्ति :- मिति २०७७।०२।०७ गते ।

————————————————-

टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालले विभिन्न तवरले अकुत सम्पत्ति कमाएको र ठाउँ ठाउँमा घर जग्गा जोडी आफ्नो कार्यकालका कर्मचारीलाई समेत दबाबमा पारी नगरपालिकालाई भ्रष्टाचारको अखडा बनाई गैर कानुनी सम्पत्ति आर्जन गरी उच्च जीवनयापन गरिरहेको भन्ने आयोगमा प्राप्त हुन आएको उजुरी उपरको अनुसन्धानमा निज मिति २०३९।०४।०१ मा जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गा.वि.स. सचिव/ रा.प.अनं.द्वितीय श्रेणी पदमा स्थायी नियुक्ति प्राप्त गरी निजामती सेवामा प्रवेश गरी ना.सु.पदमा बढुवा हुँदै काठमाडौँ जिल्ला साबिक भिमढुंगा गा.वि.स. लगायत टोखा नगरपालिकाका कार्यालयहरू समेतमा कार्यरत रही शाखा अधिकृतको पदबाट अनिवार्य अवकाश प्राप्त गरी सेवा निवृत्त रहेको देखिन आयो ।निजले अधिकांश जग्गाहरू आफू कार्यरत गा.वि.स. तथा नगरपालिका अन्तर्गतका स्थानहरूमा कार्यरत अवधिमा जोडेको देखियो । 

सार्वजनिक सेवामा प्रवेश मितिदेखि आ.व. २०७५।०७६ सम्मको अवधिलाई जाँच अवधि लिएर गरिएको अनुसन्धानमा सङ्कलित प्रमाणका कागजातहरूबाट निज ऋषिराम अर्याल तथा निजकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा रु. ५,४४,८५,८५४।-, घर निर्माणमा रु. ४१,१०,४२५।-, पुँजीगत लाभ तथा आयकर रु.४,९६,१२६।- विभिन्न बैङ्क तथा वित्तीय संस्था एवं कम्पनीहरूका साधारण तथा संस्थापक शेयर खरिदमा रु.९,१३,७८,१२१।-, विभिन्न बचत तथा सहकारी संस्थाहरूमा भए गरेको लगानी रु. २,५०,०००।-,  छोरी छोराहरूको अध्ययनमा रु. २०,३२,३६६।-, छोराछोरीहरूको विवाहमा रु. २८,००,०००।-, जीवन बीमा बापतको प्रिमियम शुल्कमा रु. ४,१०,१५९।-, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूबाट लिएका कर्जा चुक्तामा रु.१,७६,४६,२६३।-, न्यू लिङ्क कापी उद्योग र एल.डि.इन्टरप्राइजेज फर्मसमेतमा लगानी रु.४,४२,५०,०००।-, सवारी साधन खरिदमा रु.१२,००,०००।-, सुन खरिदमा रु. ४,००,०००।-, दान र सरसापटी व्यवहारमा रु.४,५०,३३,०००।- र  बैङ्क खाताहरूमा अन्तिम मौज्दात रकम रु. १५,७६,७४८।- समेत गरी अनुसन्धानमा लिइएको जाँच अवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा निजले रु. २६,६०,६९,०६२।- (छब्बीस करोड साठी लाख उनन्सत्तरी हजार बैसठ्ठी रुपैयाँ) खर्च तथा लगानी गरेको देखिन्छ । 

सोही जाँच अवधिमा निज ऋषिराम अर्यालले निज र छोरा सुशील अर्यालसमेतको तलब पारिश्रमिक बचत आयबाट रु.५८,७५,५८७।-, अवकाश पश्चात् प्राप्त सुविधा बापत रु. १९,३०,७२४।-, विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट लिएको कर्जा तथा सापटी आय रु. ३,९०,६३,५८१।-, शुरु खरिद तथा प्रारम्भिक लगानीको स्रोत खुलेको जग्गा बिक्रीबाट प्राप्त वैध आय रु. ६८,५३,४९१।-, निवृत्तिभरण आय रु. ६,७९,३५३।-, विप्रेषण आय रु. १७,९१,५०८।-, ऋषिराम अर्यालले श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्यालको एकल स्वामित्वमा लगानी गरी सञ्चालित एल.डि.इन्टरप्राइजेज फर्मबाट रु. २५,६२,८३९।-, बीमाबाट रु. १,०७,५९६।-, विभिन्न बैङ्क तथा वित्तीय संस्था एवं कम्पनीहरूका खरिद साधारण तथा संस्थापक शेयरहरू (शुरु खरिद तथा प्रारम्भिक लगानीको स्रोत खुल्न आएका) बिक्री र नगद लाभांशसमेतबाट प्राप्त वैध आय रु.४१,४५,५३४।- र सरसापटी व्यवहारबाट फिर्ता रु.२,४७,१७,०००।- समेत गरी जाँच अवधिमा निज ऋषिराम अर्यालले जम्मा रु. ८,७७,२७,४८३।- (आठ करोड सतहत्तर लाख सत्ताइस हजार चार सय त्रियासी रुपैयाँ) आय आर्जन गरेको देखिन्छ । 

निज ऋषिराम अर्यालले सार्वजनिक सेवामा प्रवेश गरे देखि मिति २०७६ आषाढ मसान्तसम्मको जाँच अवधिमा आर्जन गरेको वैध आय रु. ८,७७,२७,४८३।- को तुलनामा सोही अवधिमा निजले विभिन्न शीर्षकहरूमा लगानी तथा खर्च गरेको रु. २६,६०,६९,०६२।– को विश्लेषणबाट रु. १७,८३,४१,५७९।-(सत्र करोड त्रियासी लाख एकचालीस हजार पाँच सय उनासी रुपैयाँ) को आय भन्दा बढी खर्च गरेको रकमहरूको स्रोत खुल्न आएको देखिँदैन ।

निज ऋषिराम अर्याल राष्ट्रसेवक कर्मचारीको रूपमा लामो समय काठमाडौँ जिल्लाका साबिकको धापासी गा.वि.स., टोखा सरस्वती गा.वि.स. र भिमढुंगा गा.वि.स.मा गा.वि.स. सचिवको रूपमा कार्यरत रही टोखा नगरपालिकामा निमित्त कार्यकारी अधिकृतको रूपमा समेत कार्यरत रहेका निजले आफू कार्यरत रहेका गा.वि.स. तथा कार्यक्षेत्र अन्तर्गतका स्थानहरूमा अधिकांश घरजग्गाहरू सिर्जना गरेको पाइनुका साथै अनुसन्धानमा लिइएको जाँच अवधिमा निजले आफू र आफ्नो परिवारका सदस्यहरूको नाममा दर्ता कायम रहने गरी सिर्जित अधिकांश चल/अचल सम्पत्ति तथा खर्च लगानीहरूलाई निजको त्यस बेलाको वैध आय तथा बचत मौज्दातले खामेको नपाइएका त्यस्ता सम्पत्तिहरू प्राप्त गर्दा भए गरेका खर्च लगानीहरूको स्रोतका सम्बन्धमा निज ऋषिराम अर्यालले अनुसन्धानको क्रममा बयान गर्दा समेत सम्पत्ति आर्जनको वैधानिक स्रोत एवं वस्तुनिष्ठ आधार प्रमाणहरू प्रस्तुत गरी आय भन्दा बढी देखिएका व्यय रकमहरूको स्रोत पुष्टि गर्न नसकेबाट विद्यमान सम्पत्तिको स्रोत नखुलेको हुँदा निजको सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिएकोले आफ्नो हैसियत भन्दा बढी रकम खर्च लगानी गरी आफू तथा श्रीमती र छोराहरूको नाममा घर जग्गाहरू खरिद¸ विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरू तथा कम्पनीहरूका संस्थापक एवं साधारण शेयरहरू खरिद लगानी लगायतका चल/अचल सम्पत्तिहरू खरिद, विभिन्न उद्योग तथा फर्म एवं सहकारीहरूमा लगानी, विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूमा रकम जम्मा एवं घर निर्माण लगायतका शीर्षकहरूमा भए गरेका खर्च लगानीहरू रु. २६,६०,६९,०६२।- मा रु.१७,८३,४१,५७९।-(सत्र करोड त्रियासी लाख एकचालीस हजार पाँच सय उनासी रुपैयाँ) बराबरको सम्पत्ति गैर कानुनी रूपमा आर्जन गरेको पुष्टि हुन आएकोले निज ऋषिराम अर्याललाई बिगो रु.१७,८३,४१,५७९।-(सत्र करोड त्रियासी लाख एकचालीस हजार पाँच सय उनासी रुपैयाँ) कायम गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय हुन माग दाबी लिई निज ऋषिराम अर्यालले जाँच अवधिमा आर्जन गरेको स्रोत नखुलेको गैर कानुनी रूपमा आर्जित सम्पत्तिहरू साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग., दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम जफत गरी जफत गरिएका सम्पत्तिबाट नपुग हुन आएको बिगोसमेत कानुन बमोजिम असुल गरी पाउन निज ऋषिराम अर्यालकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल र छोराहरू सुशील अर्याल, सुनिल अर्यालसमेतलाई सम्पत्तिहरू जफत प्रयोजनार्थ प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौँ  आरोप-पत्र दायर गरिएको छ।

प्रवक्ता :

प्रदीपकुमार कोइराला

Tags :
प्रतिक्रिया दिनुहोस