प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका प्रस्थान « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका प्रस्थान


३० भाद्र २०८०, शनिबार


काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बिदाइ गरेका छन् । प्रधानमन्त्री विदेशमा रहेका बेला कार्यबाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री खड्काले पाएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उहाँले मन्तव्य दिने कार्यसूची छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आगामी आसोज २ गते अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्नेछन् । साथै विभिन्न देशका आफ्ना समकक्षीसँग भेट गर्ने मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल आगामी असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ जाने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस