बाल अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाल अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ‘प्रचण्ड’


२९ भाद्र २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्धन र प्रवर्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बाल दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गरी प्रधानमन्त्रीले नेपालको संविधान, बालबालिकासम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्था कार्यान्वयन गर्न-गराउन सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

उनले तीनै तहका सरकारले बालबालिकाका लागि लगानी वृद्धि गर्न आवश्यक रहेको बताएका छन्। ‘बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारको संरक्षण र संवर्धन गर्न गराउन नेपाल सरकार र प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकाय र सम्बन्धित स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपिल गर्दछु’ उनको शुभकामना सन्देशमा भनिएको छ ।

प्रधानमन्त्रीले बाल यौन दुर्व्यवहार, बालबालिका विरुद्धको हिंसा, बाल विवाह, बाल श्रम, बालबालिकाको बेचबिखन तथा अनधिकृत ओसारपसारजस्ता घृणित कार्य नहुने घर परिवार, समुदाय, समाज र राष्ट्र निर्माण गर्नु सबैको साझा दायित्व र कर्तव्य भएको बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस