विमानस्थल भन्सार बन्द गर्ने कर्मचारीको घोषणा « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

विमानस्थल भन्सार बन्द गर्ने कर्मचारीको घोषणा


२४ भाद्र २०८०, आइतबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरूले काम रोकेर आन्दोलन गर्ने जनाएका छन् । विमानस्थलबाट करिब ६१ किलो सुन बरामद भएको घटनामा अनुसन्धानको नाममा आफूहरूलाई मानसिक रूपमा दुःख दिने काम भएको भन्दै उनीहरूले काम छोडेर आन्दोलन तिर लागेका हुन् । 

पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका कर्मचारीहरूले अनुसन्धानको नाममा निर्दोष कर्मचारीलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिनेलगायत काम बन्द गर्नुपर्ने, कार्यस्थलमा नियमित उपस्थित भई निर्भीक रूपमा उच्च मनोबलका साथ कार्य गर्ने वातावरण हुनुपर्ने, बिना प्रमाण थुनामा राखिएका सबैलाई रिहा गर्नुपर्ने, कर्मचारीको वैयक्तिक विवरण सार्वजनिक गर्ने कार्य तत्काल बन्द गर्न र कर्मचारीलाई दुःख दिने कार्य बन्द गर्नुपर्ने जनाएका छन् । 

साङ्केतिक विरोधस्वरुप भन्दै आज तीन घण्टा पेन डाउनसमेत गरेका कर्मचारीहरूले भदौ २५ र २६ गते कार्यालयको कार्गो जाँच पास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धी सम्पूर्ण कार्य पूर्ण रूपमा बन्द गर्ने, भदौ २७ गते यात्रु जाँच पास शाखाबाट सम्पादन हुने कार्यहरू प्रभावित गर्ने उनीहरूले घोषणा गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस