काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरी बललाई आग्रह गरेका छन् ।
महानगरपालिकाको नगर प्रहरी बलको स्थापना दिवसको अवसरमा आज बिहीवार आयोजित कार्यक्रममा मेयर शाहले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरीलाई आग्रह गरेका हुन् । उनले संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील भएर काम गर्न पनि नगर प्रहरीलाई आग्रह गरे ।
उनले भने, ‘एउटै व्यक्तिमा बुद्धि/विवेक, इमानदारिता र हिम्मत तीन वटै गुण भएको खासै पाइँदैन । यो तीन वटै गुण राखेर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भूमिका निभाउनुभएकोमा पनि धेरै-धेरै धन्यवाद दिन चाहन्छु । साथ साथै नगर प्रहरी बलले बुद्धि/विवेक पुर्याउनुपर्ने ठाउँमा बुद्धि/विवेक पुर्याउनु होला । संवेदनशील हुनुपर्ने ठाउँमा संवेदनशील पनि भइदिनु होला । हिम्मतले काम गर्नुपर्ने ठाउँमा हिम्मतिलो पनि भइदिनु होला । इमानदार त सधैँ हुनु नै पर्नेछ । यसरी नै बितेको वर्षमा तपाईँहरूले काम गर्नुभएको छ । त्यसका लागि मलगायत हामी सबै जनप्रतिनिधि धेरै नै खुशी छौँ । यसरी नै खुशी राखिरहनु होला ।’
मेयर शाहले नगर प्रहरीले कुनै पनि प्रकारको नातावाद, कृपावाद र राजनीतिक दबाबविना काम गरिरहेको उल्लेख गर्दै यसप्रति महानगरपालिकाको सबै जनप्रतिनिधि खुशी भएको उल्लेख गरे । उनले महानगरपालिकाले एक सय ५० रोपनीभन्दा बढी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको, पार्किङ व्यवस्थापनमा लागेको र अवैधानिक संरचना हटाएर सुशासन कायम गराउन लागेको उल्लेख गर्दै यस काममा नगर प्रहरीको भूमिकाको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन् । महानगरपालिकाको कामले देशभर नै त्यस प्रकारको निर्णय गराउन सफल भएको पनि मेयर साहको भनाइ छ ।