‘बालसुधार गृहका दोषीलाई कानूनको दायरमा ल्याउनू’  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

‘बालसुधार गृहका दोषीलाई कानूनको दायरमा ल्याउनू’ 


८ भाद्र २०८०, शुक्रबार


काठमाडौँ ।  राष्ट्रिय मानवअधिकार आयोगले भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन भनेको छ।

आयोगले बाल सुधारगृहमा भयरहित वातावरण सुनिश्चित गर्न र त्यस प्रकारका घटना पुनः दोहोरिन नदिन सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलले बिहीबार विज्ञप्ति जारी गरी घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन माग गरे।

बाल सुधारगृहभित्र यही भदौ ३ गते रामेछापका कमल बस्नेतको मृत्यु भएको विषयलाई लिएर बाल सुधारगृहमा तोडफोड भएको र सुधारगृहबाट बालबालिका बाहिर निस्केका थिए। यो घटनाबारेमा आयोगले अनुगमन गरेको छ।

अनुगमनका क्रममा आयोगले बाल सुधारगृहमा रहेका बालबालिका, बाल सुधारगृहको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानबिन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानबिन समितिका सदस्यसँग प्रत्यक्ष भेटी जानकारी लिनुका साथै बाल सुधारगृह परिसरको अवलोकन गरेको जनाइएको छ।

बाल सुधारगृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको एवं सुधारगृहका कमान्डरले आवश्यक समन्वय गर्न नसकेकाले सामान्य बिरामी परेका निज कमलको उपचार अभावमा मृत्यु भएको भन्दै बालबालिकाले विरोध गरेका थिए।

बालबन्दीले भदौ ४ गते ढुंगामुढा तथा तोडफोड गरी सुधारगृहबाट भागेको, भागेकामध्ये केही सम्पर्कमा आएको र अझै १० जना सम्पर्कमा आउन बाँकी रहेको अनुगमनबाट पाएको आयोगले जनाएको छ। आयोगले कमल बस्नेतको मृत्यु भएको घटनाको उजुरी दर्ता गरी अनुसन्धान प्रारम्भ गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस