खरिद प्रणाली सुधारका लागि गहन प्रयास आवश्यक : सचिव डा. रेग्मी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खरिद प्रणाली सुधारका लागि गहन प्रयास आवश्यक : सचिव डा. रेग्मी


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । सार्वजनिक खरिद कार्यालयका सचिव डा. दामोदर रेग्मीले खरिद प्रक्रिया प्रणालीमा धेरै चुनौती रहेकाले सुधारका लागि गहन प्रयास आवश्यक रहेको बताएका छन् । 

सार्वजनिक खरिद अनुगमन कार्यालयको १७औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले यस्तो बाएका हुन् । 

उनले भने, “सार्वजनिक खरिद ऐनमा देखिएका अड्चन हटाउन पुनः लेखनमा लागिएको छ, यसमा सबैको सहयोग र सहभागिता आवश्यक छ, सार्वजनिक खरिद आर्थिक अनुशासन कायम गर्ने महत्त्वपूर्ण आयाम हो । प्रतिस्पर्धी क्षमतालाई बढाएर पुँजीगत खर्च बढाउनेतर्फ प्रयास केन्द्रित हुनपर्छ ।”

सार्वजनिक खरिद पुनरावलोकन समितिका अध्यक्ष मोहनकृष्ण सापकोटाले सार्वजनिक खरिद मितव्ययी र परिणाममुखी हुनुपर्नेमा जोड दिएका छन् । उनले भने, “सार्वजनिक खरिद प्रक्रियाबारे कतिपय अवस्थामा आवश्यक ज्ञान नहुँदा र लापरबाहीका कारण परिणाम प्राप्तिमा चुनौती खडा हुन्छ । कानुनको परिपालना र क्षमता बढाउनेतर्फ पनि विशेष ध्यान पुर्‍याउनुपर्छ ।”

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रबी सिंहले सरकारको अनुगमन चुस्त हुने र नीति नियम समयसापेक्ष बनाइने हो भने पूर्वाधार निर्माणमा सहज हुने धारणा राखे । उनले भने, “ऐन कानुन पूर्वाधार निर्माणमैत्री हुनुपर्छ, राजनीतिक दबाब र प्रभावबाट मुक्त गराइनुपर्छ ।”

कार्यालयका पूर्वसचिव बज्रकिशोर साह र सहसचिव उमेश ढुङ्गानाले मन्त्रिपरिषद्बाहेक सबै निकायको अनुगमन गर्ने कार्यादेश पाएकाले खरिद प्रक्रियामा सुशासन र पारदर्शी कायम गर्ने सन्दर्भमा महत्त्वपूर्ण भूमिका रहेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस