आफ्ना मान्छे जोगाउन सरकारले प्रहरी अधिकारीलाई सरुवा गर्‍यो : एमाले « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आफ्ना मान्छे जोगाउन सरकारले प्रहरी अधिकारीलाई सरुवा गर्‍यो : एमाले


३ भाद्र २०८०, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले आफ्ना मान्छेलाई जोगाउन सुन तस्करी छानबिनमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गरेको आरोप लगाएको छ ।

एमालेका सचेतक महेश बर्तौलाले सत्तापक्षकै नेताहरू सो प्रकरणमा मुछिएपछि सरकारले उनीहरूलाई उन्मुक्ति दिनेगरी अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई सरुवा गरेको बताए ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले सीआईबीलगायतका सरकारी निकाय सत्तापक्षले आफ्नो इसारामा चलाउने काम भएपछि आफूहरूलाई त्यसले स्वतन्त्र र निष्पक्ष ढङ्गले सुन तस्करीको अनुसन्धान गर्ला भन्ने नलागेको जिकिर गरे ।

सचेतक बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने आफ्नो पार्टीको मागको औचित्य झनै पुष्टि भएर गएकोले त्यसबाट पछि हट्न नसकिने अडानसमेत दोहोर्‍याए ।

उनले भने, ‘उच्चस्तरीय छानबिन समितिको माग त अझ यसको औचित्यता, आवश्यक्ता अझ बढेर गएको छ । तपाईँ सबैले देखिरहनुभएको छ । अनुसन्धानको तहमा क्रियाशील भएका प्रहरी अधिकारीहरूलाई एकपछि अर्को अनुसन्धानको सुई जब सत्तापक्ष व्यक्तितर्फ, मुर्धन्य व्यक्तितर्फ सोझिन थाल्यो । त्यसपछि सत्ता घटकलाई प्रहरी अधिकारीलाई सरुवा गर्नु पर्‍यो । यसले के देखाउँछ भने राज्य मातहतका निकायबाट सीआईबी होस वा राजश्व अनुसन्धान विभाग होस् । यी कुनै पनि इकाईले निष्पक्ष, स्वतन्त्र ढङ्गले काम गर्न सकिराखेको छैन । सरकारले यसमा नियन्त्रण गरिराखेको छ । सरकारले आफ्नो उद्देश्य र अभिष्ट साँध्नका लागि त्यस बमोजिम काम गरिराखेको छ भन्ने कुरा देखिन्छ । त्यसकारण नेकपा एमालेले सुन तस्करसँग जोडिएको, यी तस्करका समग्र जालोलाई समाप्त पार्नुपर्छ भन्ने कोणबाट उठाएको यो माग हाम्रो जारी छ । हामी यो मागबाट फिर्ता हुँदैनौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस