कैदी बन्दी मृत्यु प्रकरणमा प्रहरी र चौकीदार सहितका कैदीको संलग्नता देखियो : छानबिन समिति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कैदी बन्दी मृत्यु प्रकरणमा प्रहरी र चौकीदार सहितका कैदीको संलग्नता देखियो : छानबिन समिति


३२ श्रावण २०८०, बिहिबार


काठमाडौँ । सङ्खुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ । छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले सो जानकारी दिएको छ । 

यही साउन २४ गते बिहान भएको सो घटनापछि गृह मन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो । उक्त टोली गत शुक्रबार सङ्खुवासभा आएको थियो । कारागारमा रहेका ‘सिसिटिभी फुटेज’को अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको उनले जानकारी दिए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीकोसमेत प्रत्यक्ष संलग्नता देखिएको संयोजक पाण्डेले बताए । 

अनुसन्धानपछि केन्द्रीय छानबिन समितिले भोली (शुक्रबार) उक्त घटनाको प्रतिवेदन गृहमन्त्रलायमा बुझाउने तयारी गरेको संयोजक पाण्डेले बताए । उनका अनुसार घटनामा कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित केही प्रहरी र सात कैदीको संलग्नता देखिएको छ । 

मृत्यु प्रकरणमा मुछिएका इन्चार्ज चौधरीसहित सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । चौधरीलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको थियो । 

चौधरीलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको छ भने कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी गरेको छ । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन ।

घटनाको छानबिन टोलीमा प्रहरी नायब उपरीक्षक कौशल बुढाथोकी, अनुसन्धान अधिकृत कुमार बुढाथोकी, कानुन अधिकृत तुलबहादुर खड्का र जिल्ला प्रशासन कार्यालयका अधिकृत भोगेन्द्र श्रेष्ठ रहेका छन् । । घटना लगत्तै अनुसन्धानका लागि उक्त टोली गत शुक्रबार सङ्खुवासभा आएको थियो । 

घटनाबारे अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशका प्रमुख उपसचिव पवन कुमार भट्ट, मानव अधिकार अधिकृत चिरञ्जीवी कोइराला र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश प्रमुख सोम थापासहित तीन जनाको टोली पनि सङ्खुवासभा आएको थियो । पच्चिस जनाको क्षमता रहेको कारागारमा अहिले १ सय ३६ कैदी बन्दी छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस