काठमाडौँ । कोशी प्रदेश सरकारले भदौ १ गतेबाट प्रदेशसभाको बैठक बोलाउने तयारी गरेको छ । गत असार १५ गतेदेखि स्थगित भएको तेस्रो अधिवेशनको बैठक भदौ १ गतेबाट बोलाउने तयारी गरेको हो ।
भदौ १० सम्म बजेट पास गर्नुपर्ने बाध्यात्मक व्यवस्था भएका कारण सरकारले विश्वासको मत लिनुअघि बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको मुख्यमन्त्री उद्धव थापाले बताए ।
२१ असारमा तत्कालीन सभामुख बाबुराम गौतमसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापा सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थिए । तर त्यसपछिको सरकार गठन प्रक्रियामा सभामुख गौतमले राजीनामा दिएर समर्थन गरेपछि थापा पुन मुख्यमन्त्री नियुक्त भए भने गौतम हाल आर्थिक मामिला तथा योजनामन्त्री छन् ।
कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेठ ३१ गते अध्यादेशमार्फत आर्थिक वर्ष २०८०–८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट पेस गरेका थिए । जसमा चालु तर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार र पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार विनियोजन गरिएको छ । १५ असारमा पदमुक्त हुनुअघि कार्कीले १४ असारमा बजेट अध्यादेश प्रदेशसभामा टेबुल गरेका थिए ।
६० दिनभित्र प्रतिस्थापन विधेयक पारित नभए अध्यादेश निष्क्रिय हुने संवैधानिक व्यवस्थाका कारण अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक १० भदौसम्म पारित गर्नुपर्छ ।
भदौ १० गतेभित्रै प्रतिस्थापन विधेयक पारित गर्ने मुख्यमन्त्री थापाले बताए । सबै दलको सहमतिमा संशोधनसहित प्रतिस्थापन गर्ने तयारी भएको शुक्रबार पत्रकार सम्मेलनमार्फत बताएका थिए ।
बजेट प्रतिस्थापन गरेपछि मात्रै विश्वासको मत लिने उनको तयारी छ ।